हातको सीपले बदल्यो भाग्य, झापामा चम्किँदै आशिष सुज सेन्टर

बुधबार, १५ असोज २०८२

भद्रपुर (झापा) : “व्यापार सुरु गर्दा हामीसँग पैसाभन्दा पनि ठूलो सपना थियो। त्यही सपनाले केही गर्न प्रेरित गरेको थियो,” आफ्नो पसल देखाउँदै झापाको बुद्धशान्ति गाउँपालिका–१ पहाडीचोकका कमल मङ्ग्रान्तीले भने।

श्रीमान्को स्वरमा स्वर मिलाउँदै श्रीमती तारा तोलाङीले थपिन्, “त्यही सपना पछ्याउँदै जाँदा आज हामीले सानो लगानीबाट सुरु गरेको व्यापारलाई उद्योगकै रूपमा विकास गर्न सफल हुँदै छौँ।”

मङ्ग्रान्ती दम्पतीले ‘आशिष सुज सेन्टर’ स्थापना गरेका हुन्। करिब १५ वर्षअघि काठमाडौँस्थित शिखर सुजलगायत विभिन्न कम्पनीमा मजदुरी गर्दै जीविका चलाइरहेका कमल आफ्नै उद्यम गर्ने सपनासहित गाउँ फर्कने सोच बनाएका थिए।

दिनभरि अर्काको काम गरेर पनि परिवार धान्न गाह्रो भएपछि उनलाई आफ्नै व्यापार गर्नुपर्छ भन्ने लाग्यो। त्यसैले विसं २०६९ तिर मङ्ग्रान्तीले जुत्ता तथा चप्पल बनाउने तालिम लिएका थिए। सीप प्राप्त गरेपछि उनी झापाको बुद्धशान्ति फर्केर परिवार र आफन्तसँग सानो ऋण जुटाई घरकै एउटा कोठामा जुत्ता उत्पादन सुरु गरे।

“सुरुआतमा केही हजार लगानी गरेर घरकै सटरमा आफ्नै उत्पादन बिक्री थालेँ। प्रारम्भिक चरणमा गाउँघरमा हातले टाँसेका जुत्ता बेच्न कठिन भए पनि गुणस्तर र डिजाइनमा ध्यान दिन थालेपछि क्रमशः बजार बिस्तार हुँदै गयो,” मङ्ग्रान्तीले भने, “श्रीमतीलाई पनि जुत्ता बनाउने सीप सिकाएँ। उनले उत्पादनसँगै पसल व्यवस्थापनमा साथ दिएपछि निकै सहज भयो।”

उद्योग स्थापनाको केही वर्षपछि ऋण उठाएर खरिद गरिएको पहिलो सिलाइ मेसिनले व्यवसायलाई नयाँ मोड दियो। हाल उनको उद्योगमा विद्यार्थीका लागि जुत्ता, कामकाजी महिलाका लागि सहज चप्पलदेखि युवाका लागि आकर्षक जुत्ता उत्पादन भइरहेको छ।

“हाल पालिकाभर हाम्रो काम र पसलको चर्चा हुन्छ। उद्योगमार्फत दैनिक ३० देखि ४० जोडी विभिन्न आकार–प्रकारका जुत्ता तथा चप्पल उत्पादन गरिरहेका छौँ। चार जना स्थानीयलाई रोजगारीसमेत दिइरहेका छौँ,” मङ्ग्रान्तीले सुनाए।

तिनीहरूले आफ्नै पसलमार्फत बिक्री गर्नुका साथै मागअनुसार जिल्लाबाहिर पनि जुत्ता–चप्पल आपूर्ति गर्दै आएका छन्। केही हजार लगानी गरेर सुरु गरेको व्यापार अहिले करिब ४० लाख पुँजीमा पुगेको छ।

उद्योगमार्फत चार जनाले रोजगारी पाइरहेका छन्। हिजो अर्काको काम गरेर जीविका चलाउनसमेत समस्या भोगेको यस परिवार अहिले यही उद्योगको आम्दानीले सहज बनेको छ।

“परिवारको जीवनस्तरमा सुधार हुनुका साथै सन्तानको शिक्षामा लगानी गर्न सजिलो भएको छ। लगानी बिस्तार गर्दै हाल करिब रु ४० लाखसम्मको पुँजी पुगाएका छौँ,” श्रीमती ताराले भनिन्, “पहिले भाडाको घरमा बसेर महिनाको खर्च टार्न हम्मेहम्मे पर्थ्यो। अहिले आफ्नै घर छ, उद्योग छ र अरूलाई रोजगार दिन सक्ने अवस्थामा छौँ।”

श्रीमान्–श्रीमतीबिचको सहकार्य नै सफलताको मूल मन्त्र भएको उनीहरूको बुझाइ छ। कमल उत्पादन व्यवस्थापनमा र तारा डिजाइन तथा बिक्री–वितरणमा केन्द्रित छन्।

थोरै पुँजीबाट सुरु गरेको व्यवसायबाट सफलता हासिल भए पनि विदेशी जुत्ता आपूर्तिका कारण केही समस्या भइरहेको मङ्ग्रान्तीले गुनासो गरे।

“यदि सरकारको स्पष्ट सहयोग र कर छुट मिल्यो भने हामीजस्ता साना उद्यमीले अझ ठूलो योगदान दिन सक्छौँ। तर, कर तिर्ने बेलामा विभिन्न निकायमा धाउनुपर्ने बाध्यताले समय र स्रोत दुवै खर्च हुन्छ। एकीकृत प्रणाली भए सहज हुन्थ्यो,” उनले भने।

मङ्ग्रान्ती दम्पतीको योजना उद्योगलाई थप विस्तार गर्दै झापामै ठूलो ‘फुटवेयर हब’ बनाउने छ। जसले आफ्नै मात्र होइन, स्थानीय युवालाई पनि रोजगारी दिन सक्नेछ। त्यसका लागि योजना र केही रणनीति बनाएर अघि बढिरहेको मङ्ग्रान्तीले बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार