सुनसरी: गत शनिबार र आइतबारको वर्षासँगै आएको बाढीले जिल्लामा एक हजार बढी घर प्रभावित भएका छन् ।
बाढीले सुनसरी सदरमुकाम इनरुवासहित धरान, इटहरी, बराहक्षेत्र, दुहबी, रामधुनी, इनरुवा, गढी, बर्जु, कोसी, भोक्राहा, हरिनगर र देवानगञ्जमा एक हजार ३७० घर प्रभावित भएको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिए ।
जिल्लाका विभिन्न खोला तथा नदीमा आएको बाढीले पाँच हजार ४७४ जनालाई प्रत्यक्ष असर परेको उनले बताए । प्रभावित घरमा पानी प्रवेश गर्नुकासाथै आंशिक रुपमा क्षति पुगेको प्रहरी उपरीक्षक थेबेले बताए । सुरक्षाकर्मीको टोलीले बाढीमा फसेका ३४४ जनालाई उद्धार गरेको जनाएको छ ।
सदरमुकाम इनरुवामा २०० परिवार विस्थापित भएका छन् । पश्चिममा सुनसरी खोला र पूर्वमा गडन खोलाको बाढीले इनरुवा नगरपालिकाको ३, ४, ९ बबिया र १० जल्पापुरसहित दर्जनौँ बस्ती डुबानमा परेको छ ।
प्रतिक्रिया