इलाम अस्पतालको सैयाबाट आमा भन्छिन्, 'छोरीलाई जोगाएर मलाई किन लगेनऊ भगवान्'

विनाशकारी पहिरोले उजाडिएका परिवार

सोमबार, २० असोज २०८२

दशैंको रमाइलो मनाउन साउदी अरबबाट घर फर्किएका खेमकुमार सिंजाली मगरका लागि यो पर्व सायद जीवनकै सबैभन्दा ठूलो पीडाको प्रतीक बन्यो । दुई वर्षपछि परिवारसँग दशैं मनाउने उत्साहका साथ एक महिनाअघि फर्किएका उनी शनिबार इलाम नगरपालिका–५ घोष गाउँस्थित ससुरालीमा थिए ।

तर बिहान करिब ४ बजे आएको भीषण पहिरोले सबै सपना माटोमा पु¥यायो । उनकी पाँच वर्षीया छोरी प्रिन्सिका सधैंका लागि अस्ताइन् । इलाम अस्पतालमा उपचाररत उनकी श्रीमती प्रेमिका तामाङ आँसु पुछ्दै भन्छिन्,“अनुहार चिन्ने अवस्था पनि छैन रे... मेरो छोरीलाई जोगाएर मलाई किन लगेनऊ भगवान् ।”

चार दिनपछि साउदी फर्किने तयारीमा रहेका खेम अब भन्छन्, “विदेश फर्किने सोच छैन, श्रीमतीको घाउमा मलम लगाएर यतै केही गर्न मन छ । प्रकृतिसँग कसैको केही चल्दो रहेन ।”

रातको अन्धकारसँगै आयो पहिरो गएको खबर
त्यहाँ खेमको परिवार मात्र होइन सयौं बासिन्दाको रात भयावह बन्यो । सत्तरी वर्षीया सारदादेवी सेढाँई र उनकी छोरी ४५ वर्षीया इन्द्रा पनि सन्दकपुर ३ सुलुबुङस्थित आफ्नै घरमा निदाएका थिए ।

माथिबाट आएको कुलो ढिस्कोले जमिन खोस्रिँदै घर पु¥यायो । छिमेकी सिपी सर्मा गड्तौला भन्छन्,

यो ठाउँमा पहिरो जाला भनेर कसैले सोचेकै थिएन । विपत्तिले फाँट र भिर छुट्याउँदैन रहेछ ।

अर्की छिमेकी खोमादेवी गड्तौलाका अनुसार रातभर गर्जन, चट्याङ र वर्षाले कोही बाहिर निस्कन सकेनन् ।

“बिहान उज्यालो भएपछि मात्र घर पुरिएको थाहा भयो, आमा–छोरी सुतेकै ठाउँमा थिए।”

एकै परिवारका ६ जनाको ज्यान
इलाम नगरपालिका–६ घोष क्षेत्रका बिराज पाख्रिन तामाङको घर माथिबाट आएको पहिरोले एकैपटक ६ जनाको ज्यान लियो ।

तीमध्ये तीन जना पाहुना थिए ।

स्थानीय पत्रकार सटेन्द्र जवेगु भन्छन्,

वर्षौदेखि बसोबास थियो, कसैले जोखिम ठानेन। पहिरो माथिबाट लडेर आएको ढुङ्गा र माटोले सबै पु¥यो।

३८ जनाको मृत्यु, सयौं विस्थापित
यो समाचार तयार पार्दासम्म इलामका विभिन्न स्थानमा ३८ जनाको मृत्यु पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार एक जना अझै बेपत्ता छन् र २० जना घाइते मध्ये ६ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

बाढीले सिंगो बस्ती बगायो
अविरल वर्षासँगै आएको भीषण बाढीले इलाम नगरपालिका–१० राजदुवालीस्थित माइखोला किनाराको सिंगो बस्ती बगाएको हो । 

त्यहाँका करिब ३० घर हराएका छन् । स्थानीय डुक्पा विश्वकर्मा भन्छन्, “लगाएको कपडा बाहेक केही झिक्न पाइएन, भागेर ज्यान जोगायौं।”

अर्का स्थानीय तारामणि दर्जी भन्छन्,

अब त हाम्रो घर र जग्गा कहाँ थियो भन्ने नामोनिशानै छैन ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ३० घर बगाएका मध्ये दर्जनौं परिवार बेघर बनेका छन् । बाढीले मेची राजमार्ग र मध्यपहाडी राजमार्गको यातायात पनि अवरुद्ध पारेको छ ।

प्रशासन र सेनाको उद्धार प्रयास
इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार रातको समयमा वर्षा र जनघनत्व भएको बस्तीमा पहिरो परेकाले क्षति ठूलो भएको हो । 

“राजदुवालीलाई जोखिम क्षेत्रको रूपमा पहिले नै सूचीकृत गरिएको थियो, तर अन्य ठाउँका पहिरा अनपेक्षित हुन्,” उनले भनिन् ।

त्यहाँ अहिले उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी निरन्तर खटिएका छन् । हालसम्म ४१ परिवारलाई सुरक्षित स्थानमा सारिएको र राहत तथा अस्थायी बसोबासको व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।

मनसुन बाहिरिँदा आउने स्थायी पीडा

इलाम र पाँचथरमा मनसुन बाहिरिने बेला बाढी–पहिरोले वर्षेनी त्रास ल्याउने गरेको छ । २०७८ साल कात्तिकमा पाँचथरमा ३४ जनाको मृत्यु, २०८१ असोजमा १२ जनाको मृत्यु र यो वर्ष असोजमा फेरि यस किसिमको विपत्ति आइपुगेको छ । 
 

प्रतिक्रिया

लक्ष्मी गौतम
लेखकको बारेमा
लक्ष्मी गौतम
जिल्ला संवाददाता

लेखक ३ दशक अघिदेखि पाँचथर जिल्लामा रहेर सक्रिय रूपमा कलम चलाउँदै आउनुभएको छ ।

सम्बन्धित समाचार