सर्किटबाट बसमा आगलागी हुँदा भारतको राजस्थानमा २० यात्रुको जलेर मृत्यु

बुधबार, २९ असोज २०८२

जयसलमेर (भारत) : भारतको राजस्थान राज्यअन्तर्गत जयसलमेरमा मङ्गलवार दिउँसो भएको भयानक बस दुर्घटनामा कम्तीमा २० यात्रु जिउँदै जलेर मृत्यु भएका छन्। तीन दर्जनभन्दा बढी घाइते भएका छन्, जसमा धेरैजना गम्भीर अवस्थामा छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार, जोधपुरतर्फ गइरहेको एसी स्लिपर बसमा सर्ट सर्किटका कारण आगलागी भएको हो। बसमा ५७ जना यात्रु सवार थिए। झिल्को निस्किएपछि आगो बसमा राखिएका पटाकासम्म पुगेको र एकैछिनमा आगोले सम्पूर्ण बसलाई घेरेको बताइएको छ।

पोखरणका विधायक प्रताप पुरीले दुर्घटनामा २० जनाको मृत्यु भएको पुष्टि गरेका छन्। करिब ७० प्रतिशत जलेका १६ जनालाई जोधपुरको मथुरादास अस्पतालमा भर्ना गरिएको छ भने अन्य घाइतेहरूको उपचार जयसलमेरको जवाइहर अस्पतालमा भइरहेको छ।

प्रत्यक्षदर्शीका अनुसार, आगो बसको पछाडिबाट सुरु भएर अगाडि फैलिएको थियो। चालकले बस रोकेर हाम फाले पनि यात्रुहरू फस्न पुगे। नजिकैका गाउँलेले पानी हालेर आगो निभाउने प्रयास गरे, तर बस पूर्ण रूपमा जलेर खरानी भयो।

स्थानीय प्रशासनले घटनास्थलमा राहत र उद्धार कार्य अघि बढाएको छ। अधिकारीहरूले मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने बताएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार