सुनसरीमा मेडिकलको आवरणमा लागूऔषधको धन्दा, सुवेक्षा मेडिकलका सञ्चालक पक्राउ

बुधबार, २९ असोज २०८२

सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जर चोकमा सञ्चालित एक मेडिकल हलबाट औषधिजन्य प्रतिबन्धित लागूऔषधसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँकी ४० वर्षीया शान्ति राजधामी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

सुवेक्षा मेडिकल हलमा नेपालमा नियन्त्रित औषधिको अवैध कारोवार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी भरौलबाट खटिएको टोलीले सोमबार छापा मारेको थियो। सो क्रममा मेडिकल सञ्चालक राजधामीलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार मेडिकल हलभित्र लुकाइराखिएको अवस्थामा नियन्त्रित औषधि स्पास्रेष्ट ब्रान्डका ७८० पिस ट्याब्लेट (५ वटा प्याकेटमा) फेला परेको थियो। नेपालमा प्रतिबन्धित औषधिको अवैध कारोबार गरेको आरोपमा राजधामीलाई पक्राउ गरी थप अनुसन्धानका लागि औषधि व्यवस्थापन विभाग विराटनगरमा पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पछिल्लो समय जिल्लामा केही औषधि व्यवसायीहरूले नै औषधिजन्य प्रतिबन्धित पदार्थ खुलेआम बिक्री वितरण गर्ने क्रम बढ्दै गएको छ। यसै सन्दर्भमा, ईनरुवा नगरपालिका–४ बसचोकमा पनि लागूऔषध ओसारपसार र कारोबार भइरहेको भन्ने सूचनाका आधारमा अर्को व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले पूर्व–पश्चिम राजमार्गमा लौकहीबाट ईनरुवा तर्फ आउँदै गरेको को.३२ प.५३६७ नम्बरको मोटरसाइकल रोकेर धरान उप–महानगरपालिका–१७ का ३८ वर्षीय सन्तोष बस्नेतलाई पक्राउ गरेको हो। खानतलासी गर्दा उनको साथबाट ब्राउन सुगर जस्तो देखिने १२.७० ग्राम पदार्थ फेला परेको प्रहरीले जनाएको छ। बस्नेतलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार