राजविराज । प्रहरी जवान देखी प्रहरीका उच्च अधिकारी सम्मलाई धम्क्याउने र अभद्र ब्यवहार गरेको आरोपमा एक युटुवर पक्राउ परेका छन ।
आफुलाई स्टार अनलाइन न्युज च्यानलको पत्रकार हुँ भन्दै यसरी प्रहरीलाई धम्क्याउने र अभद्र ब्यवहार गरेको आरोपमा सिरहाको लहान नगरपालिका २४ घर भएका ३९ वर्षिय मनोज मानव भन्ने मनोज महतो पक्राउ परेका हुन ।
असोज २७ गते साँझ राजविराज ५ बाट पक्राउ परेका उनलाई असोज २८ गते मंगलवार प्रहरीले अभद्रं ब्यवहार कसुरमा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट सात दिनको म्याद थपेर आवश्यक अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
पक्राउ परेका मानवले कन्ट्रोल कक्षमा ड्युटीमा रहेका प्रहरी जवान आर्दश कुशवाहालाई ९८५२८३३४०८ नम्बरको मोवाईलबाट फोन गरी थर्काएको, अपशब्द प्रयोग गरेको र उनैबाट आफ्नो मोबाईल नम्बर लिई आफुलाई समेत फोन मार्फत त्यस्तै व्यवहार देखाएको प्रहरी नायब उपरिक्षक पुरीले बताए ।
प्रहरी सभ्य ढंगले प्रस्तुत हुदै गर्दा पनि उनी भने असभ्य र धम्की शैलीमा प्रस्तुत भई अभद्र ब्यवहार देखाएको उनको भनाई छ ।
पक्राउ परेका मानवमाथी यस अघि २०७४ साल असोज २२ मा केही सार्वजनिक अपराध, २०८० कार्तिक २१ मा साईबर ब्यूरोमा विद्युतीय कारोबार, २०८० माघ १२ गते विद्युतीय कारोबार, २०८१ जेठ २८ मा ज्यान, अपहरण तथा शरीर बन्धक र २०८१ पुष २० मा अभद्र ब्यवहार सम्बन्धि कसुरमा पक्राउ गरी कारवाही भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया