राहुल गान्धीको प्रहार “प्रधानमन्त्री मोदी ट्रम्पसँग डराउँछन्”

विहीबार, ३० असोज २०८२

काठमाडौँ । लोकसभा विपक्षी नेता तथा कांग्रेस सांसद राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग “डराउने” गरेको आरोप लगाएका छन् । ट्रम्पले हालै भारतले रुसबाट तेल किन्ने कार्य बन्द गर्ने आश्वासन प्रधानमन्त्री मोदीले दिएको दाबी गरेपछि राहुल गान्धीले ती टिप्पणीहरूलाई अस्वीकार गर्दै मोदीमाथि तीव्र प्रहार गरेका हुन् ।

राहुल गान्धीले सामाजिक सञ्जाल एक्समा “प्रधानमन्त्री मोदी ट्रम्पसँग डराउँछन्” लेख्दै हालका केही घटनाहरू सूचीबद्ध गरेका छन् । उनका अनुसार, प्रधानमन्त्री मोदीले ट्रम्पलाई भारतले रुसबाट तेल नकिन्ने घोषणा गर्न अनुमति दिए, पटक–पटक अस्वीकृति पाउँदा पनि उनलाई बधाई सन्देश पठाए । अर्थमन्त्रीको अमेरिकाको भ्रमण रद्द गरे, शर्म एल–शेख सम्मेलनमा सहभागी हुन चुके र ‘अपरेसन सिन्दुर’बारे ट्रम्पको दाबीमा मौन रहे ।

कांग्रेसका वरिष्ठ नेता जयराम रमेशले पनि प्रधानमन्त्री मोदीको मौनतालाई प्रश्न गर्दै आरोप लगाए कि मोदीले अमेरिकालाई प्रमुख निर्णयहरू आउटसोर्स गरेका छन् । उनले स्मरण गरे कि गत मे १०, २०२५ मा साँझ ५ः३७ बजे अमेरिकी विदेश सचिव मार्को रुबियोले भारतले ‘अपरेसन सिन्दुर’ रोकिएको घोषणा गरेका थिए । त्यसपछि राष्ट्रपति ट्रम्पले पाँच देशमा ५१ पटकसम्म आफूले भारत–पाकिस्तानबीचको युद्धविराम गराएको दाबी गरेका छन तर प्रधानमन्त्री मोदी मौन रहेका छन् ।

ट्रम्पले बुधबार ओभल अफिसमा एफबीआई निर्देशक काश पटेलसँग संयुक्त पत्रकार सम्मेलनमा भनेका थिए,“प्रधानमन्त्री मोदीले मलाई आश्वासन दिएका छन् कि भारत अब रुसबाट तेल किन्नदैन । यो ठूलो कदम हो, अब चीनलाई पनि त्यही गर्न प्रेरित गर्नुपर्छ।” उनले भारतको अघिल्लो तेल आयात नीतिप्रति असन्तुष्टि जनाउँदै भने, “रुसबाट तेल किन्ने कार्यले रुसलाई युद्ध जारी राख्न सहयोग पु¥यायो, जहाँ करिब १५ लाख सैनिकहरू मारिएका छन् ।”

भारतले यसअघि रुसबाट तेल आयातलाई आफ्नो आर्थिक स्थायित्वका लागि आवश्यक भन्दै बचाउ गरेको थियो । तर ट्रम्प प्रशासनले भारतीय वस्तुहरूमा २५ प्रतिशत अतिरिक्त शुल्क लगाउँदै रुससँगको भारतको तेल व्यापारलाई अमेरिकी सुरक्षाका लागि “असामान्य र असाधारण खतरा” भनेको थियो । यसैबीच भारतले स्पष्ट पारेको छ कि ‘अपरेसन सिन्दुर’ वा भारत–पाकिस्तान युद्धविराम दुवै देशका सैन्य अधिकारीहरू बीचको सहमति थियो र त्यसमा कुनै तेस्रो देशको संलग्नता थिएन ।

एएनआई

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार