काठमाडौं । नेकपा एमालेको मंगलबारदेखि केन्द्रीय समिति बैठक जारी छ। बैठकमा केन्द्रीय सदस्यले आफ्नो धारणा राखिरहेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए।
उक्त प्रस्तावमाथि केन्द्रीय किमिटीका अन्य नेताहरूले आफ्नो सुझाव प्रस्तुत गरिरहेका छन्। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार मंगलबार ५० जना केन्द्रीय सदस्यले ओलीले राखेको राजनीतिक प्रस्तावमा महत्वपूर्ण सुझाव दिएका थिए।
‘अन्तरिम सरकारको गठन प्रक्रिया प्रतिनिधिसभाको विघटनका सन्दर्भमा पार्टीको धारणा, त्यसपछि सरकारद्वारा घोषित फागुन २१ को निर्वाचन, निर्वाचनमा आफूहरूको उपस्थिती के हुने? पार्टीले जनपरिचालन मार्फत गरिने कार्यक्रमबारे साथीहरूको बढी चासो छ,’ उनले भने।
बैठकमा बोल्ने केन्द्रीय सदस्यले संविधान पक्षधर र लोकतन्त्र पक्षधर शक्तिहरूको सहकार्य आवश्यक रहेको बताएको गौतमले जानकारी दिए।
बैठकमा आज पनि नेताहरूले आफ्नो धारणा राख्ने क्रम जारी छ। आजको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विषय समेत उठेको छ। एमाले केन्द्रीय सदस्य रविन कोइरालाले देउवाले पार्टी नेतृत्वबाट लिएको बिदाइको चर्चा गरेका हुन्।
‘हाम्रो पार्टी अध्यक्षबाट देउवाको भन्दा उच्चस्तरको सम्बोधन अपेक्षा गरेको छौं। तर, उहाँमा आफ्ना गल्तीप्रति सामान्य अनुभूतिसमेत नदेखिएन,’ उनले भने।
जेनजी आन्दोलनपछि कांग्रेस सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएका छन्। यससँगै उनले पार्टी नेतृत्वमा नरहने संकेत गरेका छन्।
उनले देउवाको उदाहरण दिँदै ओलीलाई नेतृत्वबाट बिदा लिन आग्रह गरेका छन्। ‘सहकर्मी दल नेपाली कांग्रेसको सभापतिले भन्दा उच्च स्तरको सम्बोधन मेरो पार्टीको अध्यक्षबाट बैठकमा हुनेछ भन्ने अपेक्षा थियो। त्यो आउन सकेन। यत्रो घटना भएर देश तहसनहस हुँदा पनि प्रतिवेदनमा आत्मआलोचित भएको महसुस गर्नुपर्थ्यो, त्यो भएन,’ उनले गुनासो गरे।
कोइरालाले महाधिवेशनको मिति तय भए पनि अब अध्यक्षले अभिभावकीय भूमिका मात्रै निर्वाह गरेर संयोजक अरूलाई तोकेर अघि बढ्नुपर्ने धारणा राखेका छन्।
अब निर्वाचनमा जाँदा संविधान संशोधनको स्पष्ट एजेन्डा लिएर जानुपर्ने उनले बताए। ‘संविधान संशोधनका मुख्य विषयहरू जेनजी आन्दोलनु उठेका भ्रष्टाचारमुक्त देश, शासकीय प्रणालीमा सुधार र सुशासनका मुद्दाहरू हुनुपर्छ। यी कुराहरू आगामी संसदबाट संशोधन गर्ने कमिटमेन्ट सहित निर्वाचनमा जानुपर्छ,’ उनले भने।
अध्यक्ष ओलीले सुदृढ पार्टी एकताको प्रस्ताव गरेको र त्यसको सुरुआत विद्या भण्डारीको सदस्यता नवीकरण गरेर थाल्नुपर्ने उनले बताए।
यस्तै केन्द्रीय सदस्य विष्णु रिजालले अहिलेको परिस्थितिमा चुनावमा जानुको विकल्प नरहेको बताएका छन्। बुधबार उनले कांग्रेस सभापति शेरबहादुर देउवाले पनि संसद पुनःस्थापनाभन्दा चुनावमै जोड दिएको बताउँदै एमाले पनि त्यही बाटोमा हिँड्नुपर्ने धारणा राखे।
प्रतिक्रिया