कोशी प्रदेश सरकारद्वारा बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत वितरण

विहीबार, ३० असोज २०८२

झापा । कोशी प्रदेश सरकारले बाढी पहिरोमा परी ज्यान गुमाउनेहरूका परिवारलाई राहतस्वरुप ३४ लाख ५० हजार रुपैयाँ वितरण गरेको छ । प्रदेश सरकारले बाढी पहिरोबाट मानवीय क्षति भएका इलाम, पाँचथर, झापा सुनसरी, उदयपुर र खोटाङका परिवारलाई राहत वितरण गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् शाखा प्रमुख षडानन्द भट्टराईका अनुसार सबैभन्दा बढी २१ लाख ५० हजार रुपैयाँ राहतस्वरुप इलाममा वितरण गरिएको छ । गत असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षाका कारण इलाममा बाढी पहिरोले ठूलो जनधनको क्षति भएको थियो ।

सरकारले इलामलाई ३ महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । विपद्बाट भएको खोज–अनुसन्धान तथा राहत वितरणसम्बन्धी २०७६ को दफा ९ बमोजिम विपद्मा परेको जिल्लामा राहत वितरण गरेको उनले बताए।

विपद् शाखा प्रमुख भट्टराईले पाँचथरमा ४ लाख ५० हजार रुपैयाँ, भोजपुरमा १ लाख रुपैयाँ, उदयपुरमा २ लाख रुपैयाँ, खोटाङमा १ लाख रुपैयाँ, झापामा २ लाख ५० हजार रुपैयाँ र सुनसरीमा २ लाख विपद्मा परी ज्यान गुमाउनेका परिवारलाई राहतस्वरुप वितरण गरिएको जानकारी दिए।

विपद्मा परी ज्याने गुमाउनेको परिवारलाई १ लाख रुपैयाँ र सोही परिवारको थप सदस्यको निधन भएमा प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले थपेर राहत वितरण गरिएको उनको भनाइ छ । उनले प्रदेश सरकारले विपद्मा परेका परिवारलाई चामल, दाल, तेल, नुन, बेसार, आलु, ज्याकेट, ब्लाङ्केट, म्याट्रेसलगायत सामग्री राहतस्वरुप वितरण गरेको बताए।

प्रदेश सरकारले इलाममा पहिरोमा परी ध्वस्त भएका घर निर्माण गर्ने घोषणा गरेको छ । हाल सरकारले जिल्ला प्रशासन इलाममार्फत क्षतिग्रस्त भएका घरको विवरण सङ्कलन गरिरहेको उनले जानकारी दिए। प्रदेशकै सबैभन्दा बढी क्षति भएको जिल्ला इलामलाई विपद् प्रतिकार्य र न्यूनीकरण, राहत वितरणका लागि थप १० लाख रुपैयाँ जिल्ला प्रशासनमार्फत पठाइएको उनले बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार