विराटनगर । मोरङ जिल्ला कारागारमा रहेका एक जना बन्दीको उपचारका क्रममा मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–७ निवासी ३२ वर्षीय गोपाल भनिने जितप्रसाद सापकोटाको शुक्रबार राति मृत्यु भएको पुष्टि जेलर गौरव ढुंगेलले गरेका छन् ।
जेलर ढुंगेलका अनुसार सापकोटा लागुऔषधसम्बन्धी मुद्दाका बन्दी थिए । अचानक स्वास्थ्य समस्या गम्भीर भएपछि असोज २७ गते राति उनलाई विराटनगरस्थित कोशी अस्पताल भर्ना गरिएको थियो । शरीर सुन्निने र सास फेर्न गाह्रो हुने लक्षण देखिएर अवस्था जटिल बनेपछि उनलाई थप उपचारका लागि कात्तिक ६ गते राति नोबेल शिक्षण अस्पताल लगिएको थियो ।
‘उनको फोक्सोमा पानी जमेको थियो र कलेजो पूर्णरूपमा खराब भइसकेको चिकित्सकहरूले बताएका थिए,’ जेलर ढुंगेलले भने, ‘त्यही कारण उनलाई बचाउन सकिएन ।’ सापकोटाको मृत्यु शुक्रबार राति करिब ९ बजे उपचारकै क्रममा भएको जानकारी उनले दिए ।
लागुऔषध मुद्दा चलाइएका सापकोटालाई मोरङ जिल्ला अदालतले गत साउन १२ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । अदालतको आदेशपछि उनलाई जिल्ला कारागार मोरङ चलान गरिएको थियो । उनीविरुद्धको मुद्दा हाल अदालतमा विचाराधीन अवस्थामा छ ।
मृत्यु भएपछि शव परिवारका सदस्यले जिम्मा लिएर अन्त्येष्टि गर्न लगेको कारागार प्रशासनले जनाएको छ । मोरङ जिल्ला कारागारमा हाल १ हजार १ सय ८७ जना कैदीबन्दी रहेका छन् । तीमध्ये १ हजार ७५ जना पुरुष र १ सय १२ जना महिला रहेको जानकारी जेलर ढुंगेलले दिएका छन् ।
प्रतिक्रिया