झापा । नेकपा (माओवादी केन्द्र) झापाका सहइञ्चार्ज तथा पार्टीको प्रदेश कमिटी सचिवालय सदस्य सीपी कडरियाको पछिल्लो समय परिचय बदलिएको छ ।
दुई दशक अघिदेखि वर्ग सङ्घर्षको सङ्गिन मोडमा इलाममा राजनीतिक क्रान्तिको नेतृत्व गर्दै राजनीतिक परिवर्तनको सपना देखेका कडरियाले अहिले त्यही इलाममा आर्थिक क्रान्तिको नेतृत्व गरिरहेका छन् ।
इलाम आफैँमा उर्वर भूमि हो । यही भूमिमा उनी आर्थिक क्रान्ति र उद्यमशीलताको नयाँ अभ्यास गरिरहेका छन् । त्यसो त इलाम राजनीतिकसँगै आर्थिक क्रान्तिका हिसाबले पनि उर्वर भूमि मानिन्छ । यही भूमिमा उनी अहिले आफैँमा आत्मनिर्भरसङै मुलुकको अर्थतन्त्रलाई नै चलायमान बनाउन टेवा पु¥याउने उद्देश्यले किवीसँगै ओखर र टेक्ससमेरी ईको व्यावसायिक खेती गरिरहेका छन् ।
इलामको सन्दकपुर–२मा कडरियाले ३५० रोपनी क्षेत्रफलमा व्यावसायिक खेती गरिरहेका छन् । जसमध्ये १५० रोपनी क्षेत्रफलमा किवी खेती गरिएको छ । जहाँ २५ सय बोट किवी रोपिएको छ । त्यस्तै ३० रोपनी क्षेत्रफलमा ओखरको खेती छ । जहाँ १०० बोट दाँते ओखर रोपिएको छ । त्यस्तै १५० रोपनी क्षेत्रफलमा टेक्ससमेरी ईको व्यावसायिक खेती छ । यसलाई लोठ सल्लो पनि भनिन्छ । यो क्यान्सरका रोगीहरूका लागि केमोथेरापी बनाउने औषधीय गुणले भरिपूर्ण भएको वनस्पतिमा पर्दछ । यो बिरुवा उनले १५० रोपनीमा दुई हजार ५ सय रोपेका छन् ।
२०७२ सालमा सप्तरङ्गी बहुउद्देश्यीय कम्पनी प्रालि सञ्चालन गर्दै उनले व्यावसायिक खेती सुरु गरेका थिए । कम्पनीको सञ्चालक समिति अध्यक्ष समेत रहेका कडरियाले जमिनसहित पाँच करोड रुपैयाँ लगानी गर्दै इलाममा व्यावसायिक खेती सुरु गरेका हुन् ।
नेपालकै ठूलो किवी खेतीका रूपमा कडरियाको फर्मलाई लिन सकिन्छ । वार्षिक ३ हजार ५ सय जनालाई प्रत्यक्ष रोजगारीसमेत उपलब्ध गराउँदै आएको यो कम्पनीले दैनिक ज्यालादारीका रूपमा कर्मचारी राखेको बताइएको छ । कर्मचारीले बगान सरसफाई, माटो व्यवस्थापन, माटोमा चाहिने सूक्ष्म पोषण तत्त्व व्यवस्थापन, गुणस्तरीय फर्टिलाइजर निर्माण, किवी ग्रेडिङ, थिनिङ, प्रोनिङ, हार्वेस्टिङ, गुणस्तर एवम् नस्ल सुधारको काम गर्दै आएका छन् ।
किवी रोपेको पाँच वर्षदेखि फल दिन सुरु गरेको कडरियाले बताए । गत वर्ष मात्रै २५ क्विन्टल किवी उत्पादन भएको बताएका कडरियाले बर्सेनि किवीको उत्पादन बढ्दै जाने बताए । हरेक वर्ष एक सय क्विन्टल बिक्री उत्पादन गर्ने लक्ष्य लिएको उनको भनाइ छ ।
अहिले किवीको बजार नेपाल नै पर्याप्त रहेपनि यसको उत्पादन ज्यामितीय हिसाबले बर्सेनि वृद्धि हुँदै जाने भएकाले किवीको बजारीकरणसँगै निर्यातको पहल भइरहेको उनको भनाइ छ ।
नेपालमा उत्पादित किवी नेपाल उद्योग वाणिज्य महासङ्घमा समेत सूचीकृत गरिएको बताउँदै भारतीय बजारमा किवी पु¥याउने र नेपालमा भारतीय मुद्रा भित्र्याउन पहल गरिने उनको भनाइ छ । यसबाट नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउन मद्दत पुग्ने कडरियाले दाबी गरे ।

व्यावसायिक किवी खेती गरिरहेका कडरिया नेपाल किवी उत्पादक तथा व्यवसायी सङ्घका अध्यक्ष पनि हुन् । उनका अनुसार यस अघिका वर्ष नेपालमा तीन अर्ब बरावरको किवी उत्पादन भएको थियो ।
किवीको खेती सुरु गर्नु अघि कडरिया पूर्ण रूपमा राजनीतिमा सक्रिय थिए । राजनीतिले मात्रै जीवन निर्वाहमा सहज हुने नदेखेपछि उनी कृषि कर्ममा होमिएका हुन् । व्यावसायिक कृषि कर्ममा जुटेका कडरियाले आफूसँगै अरूलाई समेत रोजगारी सृजना गर्दै नमुना कृषकको परिचय बनाएका छन् ।
तत्कालीन समय स्थायी घर ताप्लेजुङ भएका कडरिया हाल बिर्तामोडका स्थायी बासिन्दा हुन् । माओवादी जनयुद्ध उत्कर्षमा पुगेको बेला अखिल क्रान्तिकारीको केन्द्रीय नेता थिए उनी । अखिल क्रान्तिकारीको मेची कोशी इन्चार्जको रूपमा उनले यस क्षेत्रका सबै जिल्लाहरू त्यही बेला भूमिगत रूपमै घुमेका थिए ।
जनयुद्धकै बेला पार्टीको इलाम जिल्ला सेक्रेटरीसहितका जिम्मेवारी सम्हालेका उनी अहिले पनि नेकपा माओवादी केन्द्रको झापा जिल्ला सह–इन्चार्जको भूमिकामा छन् भने पार्टीको प्रदेश कमिटी सचिवालय सदस्य पनि हुन् ।
जनयुद्धबाटै माओवादीमा पूर्णकालीन राजनीति गरिरहेका कडरियाले राजनीतिसँगै व्यावसायिक खेती गरेपछि उनको परिचय फेरिएको छ । कडरियाको हातमा हिजो बन्दुक थियो । तर, अहिले उनको हातमा कृषि औजार देख्न सकिन्छ । सशस्त्र सङ्घर्षको समयमा तत्कालीन नेकपा (माओवादी) को जिल्ला सेक्रेटरीका रूपमा युद्धको नेतृत्व गरेका उनी अहिले इलाममै नगदे बाली उत्पादक कृषकका अगुवा नेता बनेपछि राजनीतिसँगै कृषिमा भविष्य खोज्ने उदाहरणीय व्यक्तिका रूपमा उभिएका छन् ।
दुई दशकअघि राजनीतिक व्यवस्था परिवर्तनको सपना देखेर राजनीतिमा होमिएका कडरियाको अबको लक्ष्य आर्थिक समृद्धि हासिल गर्नु हो । राजनीतिक क्रान्तिले व्यवस्था फे¥यो । तर, जनताको अवस्था फेर्न आर्थिक क्रान्ति अनिवार्य रहेछ– उनले भने–अब वर्ग सङ्घर्ष उत्पादनसँग जोड्नुपर्ने समय आएको छ ।
अरूलाई उपदेश दिनुभन्दा आफैँले गरेर देखाउनुपर्छ । त्यसैले म व्यवसायसँग जोडिएको हुँ । आफैँ कृषि कर्ममा जुटेपछि अरुलाईसमेत प्रेरणा मिल्छ– कडरियाले भने– हिजो राजनीतिमा जसरी सक्रिय भएर लागेँ अब आर्थिक क्रान्ति र उद्यमशीलताको नयाँ सन्देश दिन व्यवसायमा जोडिएको छु ।
‘जेन–जी आन्दोलनको मूलसार नै नो करप्सन हो । नो करप्सनको भागीदार बन्न आत्मनिर्भर अर्थतन्त्र, उत्पादन र उद्यमशीलताको विकास गर्नैपर्छ । आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न नसक्नु भनेको परनिर्भर हुनु हो’– कडरियाले भने– परनिर्भरताले जसको नुन खायो राजनीति पनि उसकै हातमा सोझ्याउनुपर्ने बाध्यकारी अवस्थातिर लैजान्छ । अतः नो करप्सनको मूलसार अन्ततः उत्पादन र उद्यमशीलतासँग नै जोडिन्छ । त्यसैले किवीसँगै अन्य खेतीको सुरुवात गरेको हुँ ।
राजनीतिलाई अगाडि बढाउन उत्पादनसङ जोडिनुपर्ने भएकाले पनि म व्यावसायिक खेतीमा जोडिएको हुँ– कडरियाले भने– अबको राजनीतिमा नो करप्सन हुनैपर्छ । त्यसका लागि पनि नेता र नेतृत्व व्यावसायिक बन्न जरुरी छ ।
राजनीतिसँगै व्यावसायिक खेतीमा लागेका कडरियाले किवी उत्पादक कृषकहरू निराश नबन्न सुझाव समेत दिएका छन् । किवीको बजार उतारचढाव भइरहेको अवस्थामा उनले किवी निर्यातमा पहल भइरहेको र नेपालमा उत्पादित किवीलाई भारतीय बजारसम्म वैधानिक रूपमा पु¥याउन आफूले पहल गरिरहेको बताएका छन् ।
कृषकले गुणस्तरीय किवी उत्पादन गरे बजारको समस्या नरहेको बताउँदै उनले भने– अब गुणस्तरीय किवी उत्पादनमा जोड गर्नुप¥यो । जसका लागि हामी सहजीकरण गर्न तयार छौँ । गुणस्तरीय किवी उत्पादनका लागि नेपाल किवी उत्पादन तथा विकास संस्थाले सहजीकरण गर्न सक्छ ।
गुणस्तरीय किवी उत्पादनका लागि र बजार प्रतिस्पर्धामा श्रेष्ठता साबित गर्नको लागि ओडब्लूडीसी एण्ड मल्टी–इकोसिस्टम प्रोसेसबाटै अगाडि बढ्नुपर्ने हुन्छ । जसका लागि सप्तरङ्गी बहुउद्देश्यीय कम्पनी र नेपाली नेपाल किवी उत्पादन तथा व्यवसायी सङ्घले सहजीकरण गर्ने उनको भनाइ छ ।
त्यसो त १३ वर्ष अगाडि २०५९ साल माघमा भएको माओवादी पार्टीको हेटौडा महाधिवेशनले नै उत्पादन ब्रिगेड बनाउने र उत्पादन एवम् उद्यमशीलतामा जोड दिने निर्णय गरेको थियो । तर, हालसम्म त्यो पूरा हुन नसक्नु नै पार्टीभित्र स्खलनको मूल समस्या रहेको बताउँदै आएका कडरिया आफू अगुवा कृषकका रूपमा स्थापित हुन चाहेको बताए ।
जनउत्तरदायी पार्टी निर्माण गर्न र समाजवादी क्रान्तिको उद्घोष गर्न उत्पादन र उद्यमशीलतालाई व्यवस्थित ढङ्गले अगाडि बढाउनै पर्ने धारणा राख्दै आएका कडरियाले उत्पादन र उद्यमशीलतालाई पार्टी सदस्यताको अनिवार्य मानक बनाउन जरुरी रहेको सुझाव समेत दिँदै आएका छन् ।
प्राकृतिक विपत्तिको कहर एकातिर हुँदा हुँदै अर्कातिर जेन–जीको आन्दोलनको क्रममा भएको क्षति दुवैको पीडा देशले भोग्नु परेको बताउँदै कडरियाले भने– अब मुलुकमा कृषि क्रान्ति आवश्यक रहेको छ । प्राकृतिक विपत्तिले इलाममा सबैभन्दा बढी क्षति भएको र आफ्नो सप्तरङ्गी बहुउद्देश्यीय कम्पनीको परियोजनाको फिल्डमा समेत क्षति पुगेको उनको भनाइ छ ।
बिर्तामोडलाई स्थायी बसोबासको थलो बनाएका कडरियाले कृषि उद्यमशीलताका लागि भने इलामलाई रोजेका छन् । आफूसँगै सात जनाको टिम बनाएर कृषि कर्ममा होमिएका कडरियाले झापावासीका लागि मात्र होइन इलामसहित नेपालकै किवी उत्पादक कृषकका लागि नमुना कृषकका रूपमा आफूलाई उभ्याएका छन् ।
कडरियाले सञ्चालन गरेको कम्पनीले हाल उत्पादन गरेको किवी अहिले प्रतिकिलो १०० रुपैयाँदेखि १५० रुपैयाँसम्ममा बिर्तामोडका व्यापारीलाई होलसेलमा बिक्री गरिरहेका छन् । भविष्यमा प्रशोधन गरेर जुस, वाइन र क्यान्डी जस्ता उत्पादन बनाउने योजना भए पनि हाल ताजा फल नै बिक्री भइरहेको कडरियाको भनाइ छ ।
कडरियाले इलाममा किवी खेती सुरु गर्नुअघि यो खेतीका विषयमा गहिरो अध्ययन समेत गरे । चीनको सिन्चेन प्रान्तको उदाहरण दिँदै उनले भने– त्यहाँका किसानले किवी खेती सुरु गरेपछि प्रतिव्यक्ति आय ७०० गुणाले वृद्धि भएको छ । नेपालमा पनि यो आर्थिक विकासको खेल बदल्ने क्षमता बोकेको फल हो किवी ।
इलामको हावापानी र माटो किवी खेतीका लागि उपयुक्त भएका कारण आफूले इलामलाई ‘किवी जोन’ का रूपमा विकास गरेर लाने उनले दाबी समेत गरेका छन् । राजनीतिक सङ्घर्षसँगै आर्थिक सङ्घर्षमा समेत कडरिया उत्तिकै सक्रिय रूपमा लागी परेका छन् ।
प्रतिक्रिया