काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठ (किसान)ले आफू निःशर्त नेकपा एमालेमा फर्किन तयार रहेको बताएका छन् ।
बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीकी नेतृ रामकुमारी झाँक्रीसहित आफू एमालेमा कुनै शर्त बिना फर्किन तयार रहेको र आफूहरुलाई हाँसेर बोलिदिए पुग्ने जिकिर गरेका हुन् । आफूले पसिना बगाएको, जीवन अर्पण गरेको पार्टीमा फर्किन आफूहरुले चाहेको बताए । आफूहरु कुनै पदको लागि फर्किन नलागेको स्पष्ट पारे ।
उनले भने, ‘हाम्रो पार्टीले नेकपा (माओवादी केन्द्र) सहित पार्टी एकता गर्नै निर्णय गर्यो । र अर्को हाम्रा पार्टीका महासचिव, सम्मानित नेताहरुले अर्को पार्टी पुनःगठन गर्ने प्रक्रियामा हुनुहुन्छ । हामी यो टिम वा हामी साथीहरु पार्टीका स्थायी कमिटीका सदस्य रामकुमारी झाँक्री लगायतका साथीहरु कसैसँग समाहित र कसैसँग एकता भन्दा पनि हाम्रो मूल घर, हामीले पसिना बगाएको, हामीले जीवन अर्पण गरेको पार्टी नेकपा एमालेमा फर्किने अभियानमा छौँ । हामी घर फर्किने क्रममा नेकपा एमालेसँग वार्ता संवादमै छौँ । हामी कुनै पदको लागि होइन, निःशर्त घरमा फर्किंदै छौँ । हामीलाई केही चाहिएको छैन, मूल घरमा हाँसेर बोलिदिए र सम्मानजनक व्यवहार गरिदिए पुग्छ ।’
नेता श्रेष्ठले एमाले नेताहरुले आफूहरुलाई सम्मानजनक व्यवहार गरिदिए मात्रै पुग्ने बताए ।
प्रतिक्रिया