काठमाडौं : स्वच्छ छवि र पेशागत अनुशासनका कारण चर्चित प्रहरी अधिकारी दानबहादुर कार्की नेपाल प्रहरीको नयाँ महानिरीक्षक (IGP) नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरीको सर्वोच्च पदमा नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका हुन्।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत कार्कीले २४ भदौमा जेन्जी आन्दोलनका बेला उपत्यकाको कमाण्ड सम्हाल्दै सुरक्षा संयोजनमा सन्तुलित नेतृत्व देखाएका थिए। त्यसअघि उनी प्रहरी प्रधान कार्यालयमा मानव स्रोत साधन विभागका प्रमुख थिए।
वर्तमान महानिरीक्षक चन्द्रकुवेर खापुङ प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा अवधि पूरा गरी २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदै छन्। त्यसअघि नै सरकारले उत्तराधिकारीका रूपमा कार्कीको नाम औपचारिक रूपमा घोषणा गरेको हो।
लुम्बिनी प्रदेशको कमाण्डदेखि काठमाडौं जिल्ला प्रहरी परिसर र उपत्यका प्रहरी कार्यालयसम्मको नेतृत्व अनुभव बोकेका कार्कीलाई संगठनभित्र “इमान्दार र परिणाममुखी” प्रहरी अधिकृतका रूपमा चिनिन्छ।
एसएसपीका रूपमा काठमाडौंमा कार्यरत रहँदा भुटानी शरणार्थी प्रकरणको अनुसन्धानको नेतृत्व सम्हालेका उनले आर्थिक विवाद वा दुरुपयोगमा कहिल्यै नजोडिएको प्रहरी स्रोतले बताउँछ।
फिल्डदेखि आईजीपी सचिवालयसम्मका जिम्मेवारीमा निर्विवाद रूपमा काम गर्दै आएका कार्कीले संगठनभित्र अनुशासन र पारदर्शिताको सन्देश दिने अधिकृतका रूपमा ख्याति कमाएका छन्।
अन्तर्राष्ट्रिय स्तरका विभिन्न तालिम लिइसकेका कार्की नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता समेत भइसकेका थिए।
उनी अब प्रहरी संगठनको नेतृत्व सम्हाल्दै, चुनौतीपूर्ण राजनीतिक र सामाजिक परिवेशबीच शान्ति–सुरक्षा सुदृढीकरणको जिम्मेवारीमा रहनेछन्।
प्रतिक्रिया