गगनको आत्मस्वीकारोक्ति : “हामीले गल्ती गर्‍यौं, अब कांग्रेसले नै असन्तुष्टि सम्बोधन गर्नुपर्छ”

विहीबार, २७ कार्तिक २०८२
File Photo

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्ला राजनीतिक असन्तुष्टिहरूको जिम्मेवारी स्विकार्दै कांग्रेसले संविधान र प्रणाली जोगाएर नयाँ बाटो देखाउनुपर्ने बताएका छन्।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले विगतका गल्ती र जनताको निराशा आत्मस्विकार गर्दै भने,

“हामीले गल्ती गर्‍यौं, तर अब पनि देशलाई अगाडि बढाउने बाटो कांग्रेसले नै देखाउनुपर्छ।”

थापाले नागरिकमा बढ्दै गएको असन्तुष्टि र राजनीतिक ध्रुवीकरणबीच कांग्रेसले जिम्मेवारी लिनुपर्ने बताउँदै भने, “तीनवटा सम्भावना छन्, पहिलो, झन् ध्रुवीकरण र हिंसा बढ्ने; दोस्रो, पुरानै स्थिति दोहोरिने; र तेस्रो, असन्तुष्टि सम्बोधन गर्दै संविधान र प्रणाली जोगाउने बाटो। हामीले तेस्रो बाटो रोज्नुपर्छ।”

उनका अनुसार यो बाटो नेतृत्व गर्ने जिम्मा कांग्रेसकै हो। महामन्त्री थापाले २०७९ सालको आमनिर्वाचनमा बनेको गठबन्धनको बचाउ गर्न नसक्ने भन्दै खुलेर आत्मालोचना गरे।

थापाले सभापति शेरबहादुर देउवाको दबाबमा गठबन्धन स्वीकार गर्नु आफ्नो भूल भएको बताए। “मैले अस्वीकार गर्नुपर्थ्यो, म लड्नुपर्थ्यो, मेरो सम्पूर्ण ताकत लगाउनुपर्थ्यो। तर मानेँ — त्यो गल्ती हो,” उनले भने।

उनका अनुसार माओवादीसँग गरिएको गठबन्धनले कांग्रेसका समर्थकहरूको लोयल्टी कमजोर बनाएको छ। “हाम्रो तल्लो तहका कार्यकर्ताहरूको पार्टीप्रतिको आत्मीयता नै समाप्त हुने स्थितिमा पुग्यो,” उनले चेतावनी दिए।

“मेरो छोरी रुँदै आउँथी, बाबा तिमीहरूलाई किन गाली गर्छन्?”

थापाले हालको जेनजी आन्दोलनबारे पनि संवेदनशील अभिव्यक्ति दिएका छन्। उनले २२ भदौमा युवाहरूले डिस्कर्डमार्फत आन्दोलनको तयारी गरिरहेको देखेपछि सभापति देउवालाई आफैं मोबाइलमा देखाएको बताए।

“मेरो छोरी नौ कक्षामा पढ्छ। ऊ रुँदै आउँथी, ‘बाबा, तिमीहरूलाई यति गाली गर्छन्’ भन्दै। मैले गएर सभापतिलाई देखाएँ,” उनले सुनाए।

देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नमान्ने भनेर कुरा टारेको उल्लेख गर्दै थापाले भने, “सभापतिले भन्नुभयो, ‘ठिक कुरा हो भाइ, तर ओली मान्दैन।’ त्यसपछि म एउटा निष्कर्षमा पुगेँ, हामीले जनताको कुरा बुझ्ने प्रयास नै गरेका छैनौं।”

थापाले अन्त्यमा स्पष्ट सन्देश दिए, “हामीले विगतका गल्तीहरू स्वीकार गर्नुपर्छ। असन्तुष्ट नागरिकहरूलाई सम्बोधन गरेर संविधान र प्रणाली जोगाउँदै देशलाई अगाडि बढाउने जिम्मा कांग्रेसकै हो।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार