इटहरी : इटहरी वडा–१ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयले बालबालिकाको अन्तरनिहित प्रतिभा पहिचान तथा प्रोत्साहन गर्न सञ्चालन गरेको ‘राष्ट्रिय मावि आइडल’ प्रतियोगिताको फाइनलका लागि २० जना विद्यार्थी छनोट भएका छन्।
विद्यालयले यो वर्षदेखि अतिरिक्त क्रियाकलापअन्तर्गत ‘प्रतिभा प्रोत्साहन र अवसरका लागि राष्ट्रिय मावि आइडल’ कार्यक्रम प्रारम्भ गरेको हो। शुक्रबार सम्पन्न सेमिफाइनल चरणबाट गायन र नृत्य शुक्रबारमा ६–६ जना तथा साहित्यतर्फ ८ जना गरी कुल २० जना फाइनलमा पुगेको अतिरिक्त क्रियाकलाप संयोजक युवराज काफ्लेले जानकारी दिए।
उनका अनुसार फाइनल प्रतिस्पर्धा मंसिर १२ गते विद्यालयको वार्षिकोत्सवको पूर्वसन्ध्यामा आयोजना गरिनेछ।
सेमिफाइनल चरणको कार्यक्रम इटहरी वडा–१ का वडाध्यक्ष रतनकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतको सभापतित्वमा आयोजित कार्यक्रममा वडासदस्यहरू ज्ञानेन्द्र गौतम, हरिहर चौधरी, विष्णुमाया नेपाली, आमा समूह, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरूको सहभागिता रहेको थियो।
प्रधानाध्यापक बस्नेतका अनुसार इटहरी क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूबीच पहिलो पटक यस प्रकारको आइडल प्रतिस्पर्धा आयोजना गरिएको हो।
यसैबीच, विहानी सत्रका कक्षा ११ र १२ का विद्यार्थीबीच शुक्रबार नै सम्पन्न ‘जेनजी आन्दोलनको औचित्य र प्रभाव’ विषयक वकृत्वकला प्रतिस्पर्धामा कक्षा ११ की करुण खड्का प्रथम भइन्। कक्षा १२ की इसिका गेलाल दोस्रो, कक्षा ११ का प्रज्ञान जिमी तेस्रो र कक्षा १२ की यूनिका सुवेदी चौथो स्थानमा रहे।
प्रतिक्रिया