ओलीलाई लक्षित गरी इलाममा रुख ढालेर सडक अवरुद्ध, १३ जना पक्राउ

विहीबार, १४ बैशाख २०८०
इलाम । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली इलाम आउने क्रममा अवरोध गरिएको छ । उनको भ्रमणलाई लक्षित गर्दै रमेची राजमार्गमा अवरोध भएको हो । पहिचानवादीको नाममा इलाम प्रवेश गर्न नदिने गरी रुख ढालेर सडक अवरुद्ध गरिएको छ। मेची राजमार्गअन्तर्गत इलामको फिक्कलमा बसेका ओली बिहान इलाम सदरमुकाम आउने क्रममा माईखोला र इलाम सदरमुकामको बीचमा पहिचानवादीहरूले रुख ढालेर सडक अवरुद्ध गरेका थिए । इलामको ग्रिन भ्यु होटलमा नेकपा एमालेको पार्टी कार्यक्रमलाई सम्बोधन गर्न जाँदै गरेका ओली लक्षित सडक अवरुद्ध भएकोमा त्यसलाई पन्छाएर कार्यक्रम स्थलसम्म पुर्याईएको सुरक्षा निकायले जनाएको छ । पूर्वप्रधानमन्त्री ओली सहित प्रतिनिधि सभाका सदस्य सुभाष नेम्वाङ कार्यक्रममा सहभागी हुन इलाम आएका छन् । कार्यक्रमलाई बिथोल्न जाँदै गरेका थप १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । लट्ठी र कालो झन्डा सहित कार्यक्रम बिथोल्न जाँदै गरेका उनीहरुलाई जोर कलश नजिकैबाट नियन्त्रणमा लिएको पोखरेलले जानकारी दिए । अहिले होटेल ग्रीनभ्युमा नेकपा एमालेको कार्यक्रम शान्तिपूर्ण रुपमा भइरहेको प्रशासनले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार