इटहरीमा आजदेखि अनलाइनबाट घरनक्सा पास गर्ने सुविधा

विहीबार, १४ बैशाख २०८०
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले अनलाइनबाट नक्सा पास गर्न सकिने सुविधा सुरु गरेको छ । उपमहानगरले ‘पेपरलेस’ अवधारणा अनुसार इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईबीपीएस) कार्यान्वयनमा ल्याएको हो । यो सफ्टवेयर प्रयोग गरी सेवाग्राहीले आफ्नो निवेदन र इन्जिनियरले बनाएको घर नक्साको डिजाइन अनलाइनमार्फत् नक्सा शाखामा पठाउन सक्नेछन् । त्यसपछि प्रक्रिया पूरा गरी नगरपालिकाले अनलाइनबाटै निवेदन स्वीकृत गर्नेछ । छिटो–छरितो सेवा प्रवाहको साथै नगरवासीको सहजता र भवन निर्माण मापदण्डलाई थप प्रभावकारी बनाउन नक्सा पासलाई अनलाइन प्रणालीमा लगिएको नगरप्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । उनले आर्थिक वर्ष ०८०/८१ भित्रमा नगरलाई पेपरलेस (कागजबिहीन) बनाउने लक्ष्य राखेको बताए । यो प्रणाली अनुसार घरनक्सा दर्तादेखि सम्पन्न प्रमाणपत्र दिनेसम्मका सम्पूर्ण काम अनलाइनबाट हुने बताइएको छ । यसले सेवा प्रवाहमा हुने ढिलासुस्ती र बाहनाबाजीलाई निरुत्साहित गराउने उपमहानगरको विश्वास छ । सबै कागजपत्र पुगेका मितिले २० दिन भित्रमा नक्सा पास हुनेछ । सेवाग्राहीले घरै बसीबसी आफ्नो काम कहाँ पुग्यो भन्ने सम्मको जानकारी लिन सक्नेछन् । उपमहानगरले केही दिन अघिमात्रै घर नक्सा उपमहानगरभित्रै बनाउने गरी काम अघि बढाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार