उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा मंसिर १७ मा हुने

शुक्रबार, १२ मंसिर २०८२

काठमाडौं । उज्यालो नेपाल पार्टीले मंसिर १७ गते ‘उज्यालो नेपाल पार्टी’ को औपचारिक घोषणा गर्ने जानकारी गराएको छ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीले २०८२ मंसिर १७ गते, दिउँसो १ बजेदेखि ४ बजे सम्म, प्रज्ञा भवन, कमलादी, काठमाडौंमा घोषणा गर्ने जानकारी गराएको हो।

सो अवसरमा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र (२०८२, औपचारिक रूपमा सार्वजनिक गरिनेछ, जसमा पार्टीको सैद्वान्तिक दृष्टिकोण, प्राथमिकता र कार्ययोजनालाई स्पष्ट रुपमा प्रस्तुत गरिनेछ।

उज्यालो नेपाल पार्टी नेपालको संविधानका उपलब्धिहरूलाई आत्मसात् गर्दै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा, प्रभावकारी सेवा प्रवाह लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न दर्ता भएको उनीहरुको भनाई छ।

कार्यक्रममा वृहत जनसहभागीता रहनेअपेक्षा राखिएको छ र सुरक्षा, सवारी तथा भीड व्यवस्थापनका तयारीहरू लगभग अन्तिम चरणमा पुगेका छन् भने कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारको मन्त्री कुलमान घिसिङ रहने छन्।

उज्यालो नेपाल बनाउने अभियान सिंगो नेपालीको साझा अभियान भएको भन्दै हालैको जेनजी आन्दोलनलाई पनि संस्थागत नगरे देशले थप आन्दोलनको भार थेग्न नसक्ने पनि पार्टीको भनाई छ।

यसै सन्दर्भमा नेपालको संविधानको उपलब्धिहरूलाई आत्मसात् गर्दै राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रिय एकता अक्षुण्ण राखी परिवर्तित सन्दर्भ सहितको जनअपेक्षा र चाहनालाई पूरा गर्ने संकल्प गर्दै, लोकतन्त्र, विधिको शासन, सामाजिक न्याय र सेवाप्रवाह मार्फत सामाजिक आर्थिक रुपान्तरण गर्न उज्यालो नेपाल पार्टी हालसालै दर्ता भएको हो।।

उज्यालो नेपाल पार्टीको मूल नारा, ‘उज्यालो भविष्यका लागि, उज्यालो नेपाल’ रहेकोछ, जसले देशको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणलाई एउटै साझा राष्ट्रिय लक्ष्यका रूपमा प्रतिविम्बित गर्दछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार