विराटनगर : सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा पूर्णविराम लगाउँदै विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा सोही टोलीसँग पहिलो क्वालिफायरमा भेट तय गरेको छ।
लिगको आफ्नो अन्तिम खेलमा आक्रामक ब्याटिङसँगै विराटनगरले कीर्तिपुरमा शनिबार सुदूरपश्चिममाथि ६ विकेटको सनसनीपूर्ण जित निकाल्यो। फराकिलो जितसँगै विराटनगर नेट रनरेटका आधारमा दोस्रो स्थानमा उक्लियो। यो नतिजाअघि काठमान्डु गोर्खाज तेस्रो स्थानमा झर्यो।
अब पहिलो क्वालिफायरमा विराटनगर र सुदूरपश्चिमबीच मंगलबार प्रतिस्पर्धा हुनेछ। लगातार दोस्रो सिजन काठमान्डुका लागि नेट रनरेट विशेष बन्यो। गत सिजन पनि कर्णाली याक्ससँग नेट रनरेटमा पछि हुँदा काठमान्डु प्लेअफमा पुग्न असफल भएको थियो। यसपल्ट पनि पहिलो क्वालिफायर यात्रामा काठमान्डुका लागि नेट रनरेट बाधक बन्यो। यो खेलअघि नै सुदूरपश्चिमले शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने पक्का भइसकेको थियो।
त्यसैले लिगको अन्तिम खेल सुदूरपश्चिमभन्दा काठमान्डुको लागि विशेष महत्त्व राख्दथ्यो। सुदूरपश्चिमको जित या विराटनगरको सामान्य जितले काठमान्डु दोस्रो स्थानमा नै रहन्थ्यो तर नतिजा अप्रत्याशित र सनसनीपूर्ण निस्कियो। अपराजित सुदूरपश्चिममाथि विराटनगरले उत्कृष्ट जित दर्ता गर्यो।
त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले एक सय ४८ रनको लक्ष्य दियो तर विराटनगर लिगको दोस्रो स्थानमा रहन १३.५ ओभरमा जित आवश्यक बन्यो। तब मात्र नेट रनरेट सुधार हुँदा विराटनगर दोस्रो स्थानमा पुग्थ्यो। विराटनगरका ओपनर फाप डुप्लेसिस र साम हेजलेटले पनि सुरुदेखि नै आक्रामक ब्याटिङ गर्दै त्यो लक्ष्य पूरा गर्ने संकेत गरे।
फाप र हेजलेट चम्किएपछि विराटनगरले ११.५ ओभरमै जित निकाल्यो र नेट रनरेटमा दोस्रो स्थानमा उक्लियो। फापले १९ बलमा र २६ बलमा अर्धशतक पूरा गरे। फाप र सामले ७.१ ओभरमा ९७ रनको साझेदारी गर्दै यादगार सुरुआत दिलाए।
साम २७ बलमा ५१ रन जोडेर आउट भए । उनले तीन चौका र चार छक्का प्रहार गरे। २० बल खेलेका फाप पनि ५० रनमा आउट भए। उनले पाँच चौका र चार छक्का हिर्काए । दुई आउट भएपछि मार्टिन गप्टिलले आक्रामक ब्याटिङ जारी राखे। ९ बल खेलेका उनी २२ रनमा रनआउट हुन पुगे । तीन बलमा तीन छक्कासहित प्रतिश जिसी १३ रनमा अविजित रहे।
सुदूरपश्चिमको बलिङमा अविनाश बोहोराले दुई र हरमित सिंहले एक विकेट लिए। सुदूरपश्चिमले ६ बलर प्रयोग गरे र सबै महँगा भए। समान सात खेलबाट समान जितसँगै विराटनगर र काठमान्डुले १० अंक जोडे तर नेट रनरेटका आधारमा विराटनगर दोस्रो स्थानमा उक्लियो। अब विराटनगरले पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग नै खेल्नेछ।
इलिमिनेटरमा काठमान्डु र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्नेछ। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेटको क्षतिमा एक सय ४७ रनको योगफल बनाएको थियो। मध्य क्रमका ब्याटर आरिफ शेख ४५ रनमा नटआउट रहे। यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। ३२ बलमा उनले एक चौका र दुई छक्का हिर्काए।
पावरप्लेमा एक विकेट मात्र गुमाए पनि सुदूरपश्चिमले ३६ रन मात्र जोड्यो। ओपनर विनोद भण्डारी १५ रनमा आउट भए। १३ बल खेलेका उनले तीन चौका हिर्काए। यो विकेटपछि सुदूरपश्चिमले सुस्त ब्याटिङ गर्यो। अर्का ओपनर जोस ब्राउन पनि २५ बलमा २४ रन जोडेर आउट भए। उनको इनिङमा एक चौका र दुई छक्का थियो तर तेस्रो विकेटका लागि आरिफ र ईशान पाण्डेबीच ७२ रनको महत्त्वपूर्ण साझेदारी बन्यो।
१७औं ओभरमा सन्दीप लामिछानेले ईशानलाई ३८ रनमा आउट गर्दै साझेदारी तोडे। इसानले ३५ बलमा समान दुई चौका र छक्का प्रहार गरे। अर्को बलमा सन्दीपले हरमित सिंहलाई पभेलियनको बाटो देखाए। त्यसपछि कप्तान दीपेन्द्रले १९ रन जोड्दै आरिफलाई साथ दिए । दीपेन्द्रले ११ बलमा दुई छक्का प्रहार गरे।
विराटनगरको बलिङमा कप्तान सन्दीपले चार ओभरमा तीन विकेट लिँदा २० रन मात्र दिए । यससँगै सन्दीप सर्वाधिक (१५ विकेट) विकेटकर्ताको सूचीमा शीर्ष स्थानमा नै रहे। विरानगरले आठ बलर प्रयोग गर्यो । डेथ ओभरमा बलिङ गरेका प्रतीशले दुई विकेट लिए। उनले एक ओभरमा चार रन मात्र दिए। बसिर अहमदको नाममा एक विकेट रह्यो।
पोखरा पाँचौंमा
ओपनरद्वय एडम रोसिङ्टन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखरा एभेन्जर्सले दोस्रो सिजनको आफ्नो अन्तिम खेलमा चितवन राइनोजमाथि आठ विकेटको जित निकालेको छ।
यो जितसँगै पोखराले सात खेलबाट ६ अंकसहित पाँचौं स्थानमा रहेर दोस्रो सिजनको यात्रा टुङ्गाएको छ। हारपछि चितवन भने एक स्थान तल रह्यो। चितवनले समान खेलबाट चार अंक जोड्यो। त्रिवि क्रिकेट मैदानमा चितवनले एक सय २१ रनको सामान्य लक्ष्य दियो। पोखराले दुई विकेट मात्र गुमाए पनि लक्ष्य पूरा गर्न संघर्ष गर्यो।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले १९.४ ओभरमा लक्ष्य भेट्टायो। ओपनरद्वय रोसिङ्टनले ६५ र अर्जुनले ४३ रनको अविजित योगदान दिए । ४८ बल खेलेका रोसिङ्टनले पाँच छक्का र चार चौका प्रहार गरे। ५३ बलमा अर्जुनले दुई चौका र एक छक्का हिर्काए।
यी दुईले पहिलो विकेटका लागि एक सय रनको साझेदारी गरे। यो नै जितको आधार बन्यो। चितवनको बलिङमा सैफ जेब र रिजन ढकालले समान एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले पूरै ओभरमा ६ विकेट गुमाउँदै एक सय २० रनको न्युन योगफल बनाएको थियो।
शीर्ष तीन ब्याटर अर्जुन साउद १, डविड मालन ५ र रवि बोपारा १ रनमा नै आउट भए र चितवनको खराब सुरुआत भयो। यससँगै दबाबमा परेको चितवनले खुलेर ब्याटिङ गर्न नै सकेन। देव खनालले ३५, कप्तान कुशल मल्लले २३ र सैफ जेबले १७ रनमा आउट भए। अल्पेश रामदानी ३३ रनमा नटआउट रहे।
पोखराको बलिङमा धनन्जय लक्षणले तीन तथा विपिन खत्री, किरण ठगुन्ना र रोहित चन्दले समान एक विकेट लिए। अब लिगको अन्तिम खेलमा आइतबार कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। पराजित हुने टोलीले लिगको पुछारमा रहेर दोस्रो सिजन पूरा गर्नेछ।
नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया