धरान । बराहक्षेत्रको घना जङ्गलका सडक खण्डहरूमा रातको समयमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले लागूऔषध नियन्त्रणमा निरन्तर सफलता हासिल गर्दै आएको छ।
प्रहरीको सक्रियता र योजनाबद्ध निगरानीका कारण सडक र गल्लीहरूमा हुने तस्करी तथा आपराधिक गतिविधि नियन्त्रणमा प्रहरी सफल हुदैँ आएको देखिएको छ ।
गएराति करिब १२:१० बजे प्रहरी जवान प्रकाश राईको नेतृत्वमा खटिएको टोलीले बराहक्षेत्र नगरपालिका–३ नडाहा–धरान सडक खण्ड अन्तर्गतको जङ्गल क्षेत्रमा विशेष चेकजाँच गर्ने क्रममा शङ्कास्पद कार रोकेको थियो।
चेकजाँचका क्रममा कारको पछाडिको सिट तथा डिक्कीमा कालो प्लास्टिकले बेरेर राखिएको १३० केजी लागू औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।
कारमा सवार इटहरी उपमहानगरपालिका–१७ पकली बस्ने २४ वर्षीय करण साह र मोरङको विराटनगर उपमहानगरपालिका–५ बस्ने २१ वर्षीय सचिन मेहतालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर दिवश कुवरले जानकारी दिए।
यसै महिनामा मात्रै प्रहरीको सक्रियताले दुई थप ठूला अपरेसनहरू पनि सफल भएको छ। गत ५ गते राति नडाहा चौकमा भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिइ ४० केजी गाँजा बरामद गरिएको थियो। त्यसअघि, २१ गते मनाही टोलस्थित क्षेत्रमा १९ केजी गाँजासहित दुई जना पक्राउ परेका थिए ।
यी घटनाहरु अझै अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ! यी घटनाहरूले प्रहरीको सक्रियता र योजना अनुसारको निगरानीलाई स्पष्ट देखाउँछ।
इन्स्पेक्टर कुवरका अनुसार, बराहक्षेत्र क्षेत्रमा लागू औषधको ओसारपसार रोक्न हामी निरन्तर सक्रिय छौं। स्थानीयवासीको सहयोग र प्रहरीको अपरेसनले यहाँको अपराध घटाउन ठूलो सहयोग पुर्याइरहेको छ।
यस्ता कारबाहीहरूले समाजमा सकारात्मक सन्देश दिएको छ। बालबालिका र किशोरहरूको भविष्य र सडक सुरक्षा सुनिश्चित गर्न प्रहरीले महत्वपूर्ण काम गरिरहेको छ।
बराहक्षेत्रको घना जंगल र सडकखण्डमा रातो प्रहरी बत्तीको प्रकाशसँगै सम्पन्न यो अपरेसनले लागू औषध नियन्त्रणमा प्रहरीको सक्रियता र सफलता झल्काएको छ।
प्रतिक्रिया