काठमाडौं : नि र्वाचनमा उम्मेदवार मतदाताका ध्यान तान्न आफूलाई नम्र, सरल, शालीन र उनीहरूको एजेण्डाअनुकुलको बनाउने प्रयास सामान्य हो ।
विगतका निर्वाचनमा पनि दलका उम्मेदवार यस्तै नौला शैली प्रयोगमा गर्थे । तर, जेनजी आन्दोलनपछि उदाएका दलका उम्मेदवारले सुरु गरेका केही नयाँ शैली यतिबेला सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेका छन् ।
चुनावमा मतदातालाई प्रभावित पार्न गोठमै पुगेर गाई दुहुने, भकारो सोहोर्ने, खेत खनजोत गर्ने, रोपाइँ गर्ने, धान काट्ने शैली आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा पनि देखिँदै छन् ।
सामाजिक सञ्जालको प्रभावले अझ यस्ता शैली मतदाताका मन तान्नसँगै ‘भाइरल’ समेत हुने पाइएको छ । चुनावी मिति नजिकिँदै जाँदा ‘एटेन्सन सिकर’को यो शैलीले उम्मेदवारलाई चर्चित र विवादास्पद सँगसँगै बनाउने देखिएको छ ।
जहाँ धमला, त्यहाँ हमला
‘धमलाको हमला’ नामक टेलिभिजन ‘टक शो’मा प्रश्नमार्फत हमला गर्ने पत्रकार ऋषि धमला प्रतिनिधिसभा निर्वाचनमा मतदातासामुसमेत ‘हमला’ शैलीमा प्रस्तुत भइरहेका छन् ।
धमला टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ र ‘धमलाको हमला’बाट जति चर्चामा छन्, त्यस्तै चर्चित र विवादित भएका छन्– रौतहटको चुनावी मैदानमा ।
उम्मेदवारी दर्ता गरेसँगै मतदाताका घरदैलोमा पुगिरहेका धमलाले मिठाइ पसलमा गएर जेरी हाल्नेदेखि उखुबारीमा गएर उखु काट्न किसानसँगै उत्रिएका छन् । यतिमात्र होइन, खेतमा ट्याक्टर जोत्नदेखि तराईको बाटोमा साइकल चढ्ने र भिडियो सार्वजनिक गर्ने काम गरेरसमेत चर्चामा छन् ।
प्रभु शाह नेतृत्वको आम जनता पार्टीबाट रौतहट– ४ मा उम्मेदवार धमला पहिलोपटक भेटिरहेका मतदातालाई चिरपरिचितजस्तै अँगालो मार्दै ‘सञ्चो बिसञ्चो’ सोधिरहेका छन् भने कतै जनताका दुःखमा रोइरहेका छन् ।
धमलाले बिहीबार रौतहटका किसानको गरिबी देखेर आफूलाई ‘असह्य भएको’ भन्दै ‘अब काठमाडौं नफर्कने र यहीँ घर बनाएर बस्ने’समेत बताए ।
सामाजिक सञ्जालमा ‘भाइरल’ एउटा भिडियोमा धमला पार्किङ गरिएको ट्याक्टरको चालक सिटमा बसेर किसानलाई मलबीउ सहज बनाउने संकल्प गर्छन्, अर्को भिडियोमा उखुबारीमा पुगेर हँसियाले उखु काट्छन्, उखु बोक्छन् ।
धमलाका यी दृश्य सहज र स्वाभाविकभन्दा पनि ‘हमला’ शैलीमा जनतासँग नजिकँदै चर्चा कमाउने शैलीका रूपमा देखिएको उनकै पार्टीका नेता बताउँछन् ।
सुधनको ‘चटके भरिया’
‘चुनावका बेला मतदातासँग हात जोड्दै हिँडेका राजनीतिक दलका नेतालाई भोटका लागि अनेक गर्छन्’ भन्दै आलोचना गर्नेगरेका सुधन गुरुङ अर्को ‘भाइरल चटक’का कारण चर्चामा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गुरुङ त्यस्तै अस्वाभाविक लाग्ने ‘एटेन्सन भिडियो’ सार्वजनिक गरेर ‘ट्रोल’ बनेका हुन् । गोरखा क्षेत्र–१ बाट उम्मेदवार बनेका गुरुङको भारी बोकेको भिडियो पनि सामाजिक सञ्जालमा ‘भाइरल’ छ । भिडियोमा कालो चश्मा लगाएका उनी नाम्लोसहितको भारी बोकेर उकालो लाग्दै गरेको देखिन्छ ।
भोटो र भोजले नेवाः समुदायको मजाक उडाउँदै जगदीश
ललितपुर क्षेत्र–२ बाट उम्मेदवार बनेका निवर्तमान सूचना प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले ललितपुर पाटनका नेवाः समुदायको मजाक उडाएका छन् । उम्मेदवारी दर्ताको दिन उनी नेवाः पोशाकमा निर्वाचन कार्यालय पुगेका थिए ।
ललितपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गरेर पहिलो निर्वाचनमै एउटा सांसद प्रत्यक्षमा जिताउन सफल कमाण्ड गरेका जिल्ला सभापति बुद्धरत्न महर्जनलाई आफ्नो पूर्ववत् निर्वाचन क्षेत्रबाट विस्थापित गरेका खरेललाई कार्यकर्ताले नै लखेटेका थिए ।
आफूलाई ‘बालेनको खास मान्छे’ भन्दै जिल्ला सभापतिलाई ‘होम ग्राउन्ड’बाट विस्थापित गरेका खरेल अहिले पाटनका नेवाः समुदायको ‘सेन्टिमेन्ट’ तान्ने र महर्जनको टिकट खोसेको आरोपबाट बच्न नेवाः भोजमा नछुटाई जान लागेका छन् ।
थोरै थोरै नेवाःमै बोल्न र सकिनसकी कण्ठ गरेरै भए पनि नेपाल भाषामा सम्बोधन गर्नसमेत तयारी गरिरहेका खरेल पनि ‘नेवाः समुदाय भड्कन नदिन’ अनेक चटक गरिरहेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपालगायत राजनीतिक दलमा उम्मेदवारी छनोट तथा आन्तरिक विवाद मिलाउँदै उम्मेदवारी फिर्ता लिने दिनसम्म कुर्नुपरे पनि रास्वपा, आजपालगायतका उम्मेदवार भने ‘भाइरल’ शैलीसहित निर्वाचन प्रचारप्रसारमा होमिइसकेका छन् ।
भोट माग्दै पुस्तकको व्यापार
चर्चित ‘भाइरल’ उम्मेदवारमध्ये एक हुन्, निवर्तमान शिक्षामन्त्री महावीर पुन । म्याग्दीबाट उम्मेदवार भएका पुन आफ्नो पुस्तक व्यापार गर्दै चुनावी कार्यक्रम गरिरहेका छन् । ‘किताब किन्न आओ’ भन्दै टोलटोलमा पुगिरहेका उनी रास्वपासमर्थित स्वतन्त्र उम्मेदवार हुन् ।
आफूले प्रस्ताव गरेका कानुन अघि बढाउनमा ‘प्रधानमन्त्रीको सहयोग नपाएको’ भन्दै गत ५ माघ सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएर रातारात जिल्ला पुगेका पुनले ‘पहिलो नै भैयो कि क्या हो !’ भन्दै ६ माघमा उम्मेदवारी दर्ता गराएका थिए ।
मतदाताले ‘सरलाई घण्टीमा भोट हाल्ने हो ?’ भनेर सोध्दा ‘मेरो चिह्न आउँदै छ, तिमीहरूले थाहा पाइहाल्छौं नि !’ भन्दै पुन चुनावी प्रचार र सँगै पुस्तक व्यापार पनि गरिरहेका छन् ।
नुवाकोटतिरका अर्का चर्चित उम्मेदवार मतदाताबीच जान्छन् र ‘हजुरको छोरो आयो बुबाआमा’ भन्दै झ्याप्पै मतदाताका गोडा समाएर ढोग्छन् ।
उनको प्रचारशैलीलाई धेरैले हाँसोको पात्रका रूपमा उडाएका छन् भने ‘राजनीतिक जिम्मेवारीलाई मजाक बनाएको’ भन्दै आलोचना गरेका छन् ।
प्रतिक्रिया