निर्वाचनपिच्छे हराउँछन् मधेशवादी दल

विहीबार, १५ माघ २०८२

काठमाडौं : निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलभित्र मात्र होइन, दलहरूबीच पनि अदलबदल तीव्र हुने गरेको छ।

आफू आबद्ध दलबाट टिकट नपाएपछि नेताहरू पार्टी परित्याग गर्दै अर्को दलमा प्रवेश गरी उम्मेदवारी लिने प्रवृत्ति आम देखिन्छ। तर मधेशवादी दलहरूको इतिहास भने केवल नेताको होइन, दलकै उदय र विलयसँग जोडिएको छ।

२०७२ सालमा संविधान जारी भएपछि २०७४ र २०७९ मा दुईपटक संसदीय निर्वाचन सम्पन्न भइसकेका छन् भने २०८२ सालमा तेस्रोपटक प्रतिनिधिसभा निर्वाचन हुँदैछ। जेन–जी विद्रोहको प्रभावपछि तीन वर्षमै आगामी २१ फागुनमा हुन लागेको निर्वाचनका लागि उम्मेदवारहरू उम्मेदवारी दर्तासँगै चुनावी दौडधुपमा छन्।

२०८२ को प्रतिनिधिसभा निर्वाचनमा १७ भन्दा बढी मधेशकेन्द्रित दल सहभागी हुँदैछन्। अन्तरिम संविधानपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा सहभागी कुनै पनि मधेशवादी दल यसपटक सोही नाममा निर्वाचनमा छैनन्।

उपेन्द्र यादव : विभाजन र एकीकरणको शृंखला

मधेश आन्दोलनसँगै मधेशी जनअधिकार फोरम नेपाल गठन गरी २०६४ को निर्वाचनमा सहभागी भएका उपेन्द्र यादवको दलले यसबीचमा दर्जनौँ पटक विभाजन र एकीकरणको इतिहास रच्यो। २०७४ को निर्वाचनमा संघीय समाजवादी फोरम नेपालका रूपमा सहभागी यो दल पछि विभिन्न दलसँग एकीकरण हुँदै जनता समाजवादी पार्टी नेपाल (जसपा) बन्यो।
पटक–पटक विभाजनको सामना गरेका यादवले २१ फागुनमा हुने निर्वाचनअघि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सँग एकीकरण गरेका छन्। २०७९ र २०८२ का निर्वाचनमा भने यादव नेतृत्वको दल एउटै नाम ‘जसपा’ बाट सहभागी हुँदैछ।

महन्थ ठाकुर : १२ वर्षमा चार दल

मधेश आन्दोलनपछि २०६४ सालमा तराई मधेश लोकतान्त्रिक पार्टी नेपाल (तमलोपा) बाट निर्वाचनमा सहभागी भएका महन्थ ठाकुरले पनि दल अदलबदलमा इतिहास रचेका छन्। तमलोपा, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) हुँदै अहिले उनी जसपा नामको पार्टीका संरक्षक बनेका छन्। कांग्रेस पृष्ठभूमिबाट आएका ठाकुरले मधेश आन्दोलनकै क्रममा तमलोपा गठन गरेका थिए।

राजेन्द्र महतो : निर्माण र विलयको यात्रा

दल अदलबदलमा राजेन्द्र महतो पनि पछाडि छैनन्। नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका महतो अहिले राष्ट्रिय मुक्ति पार्टी नेपाल (रामुपा) बाट निर्वाचनमा सहभागी हुँदैछन्। सद्भावना पार्टी, राजपा, जसपा र लोसपा हुँदै आएका महतो हाल रामुपाको नेतृत्वमा छन्।

सद्भावना पार्टी इतिहासमै सीमित

मधेश राजनीतिमा लामो समय प्रभावशाली रहेको नेपाल सद्भावना पार्टी २०८२ को निर्वाचनमा देखिँदैन। पार्टी अध्यक्षको दाबी गरेका अनिलकुमार झाले नेकपा (एमाले) मा प्रवेश गरी सूर्य चिन्हबाट उम्मेदवारी दिएका छन्। यससँगै सद्भावना पार्टी र यसको चुनाव चिन्ह दुवै राजनीतिक इतिहासमै सीमित बनेका छन्।

उदय र विलयको निरन्तर शृंखला

२०७४ को निर्वाचनमा संघीय समाजवादी फोरम, राजपा, नेपाल लोकतान्त्रिक फोरम, नेपाली जनता दल लगायत सहभागी थिए। २०७९ मा तीमध्ये नेपाली जनता दल मात्रै उही नाममा कायम रह्यो। अन्य दलहरू या त विलय भए, या नयाँ नाममा उदाए।

संविधान जारीपछिका २०७४, २०७९ र २०८२—तीनवटै संसदीय निर्वाचनमा एउटै नामले सहभागी हुने मधेशकेन्द्रित दल नेपाली जनता दल मात्र हो। बाँकी सबै दलहरू निर्वाचनअघि विभाजन, एकीकरण र नाम परिवर्तनको प्रक्रियाबाट गुज्रिएका छन्।

नेपालका कम्युनिस्ट दलहरूमा देखिएको विभाजन–एकीकरणको इतिहासलाई मधेशकेन्द्रित दलहरूले पनि अनुशरण गरेका छन्। तर निरन्तरको टुटफुटका कारण मधेशको एक सशक्त र स्थायी राजनीतिक शक्ति अझै निर्माण हुन सकेको छैन।

प्रतिक्रिया

पत्रपत्रिकाबाट
लेखकको बारेमा
पत्रपत्रिकाबाट

सम्बन्धित समाचार