हेटौँडा । मनहरी गाउँपालिका–७ की किसान विमला राईको सम्बन्ध केवल वन संरक्षणमा मात्र सीमित छैन, यो उनको दैनिकी, आम्दानी र सुरक्षासँग पनि गाँसिएको छ । सूर्योदयसँगै उनी सामुदायिक वनतर्फ लाग्छिन् । झाडी सफाइ, सुक्खा पात–पत्कर सङ्कलन र त्यसबाट कम्पोष्ट मल बनाउने काम उनको नियमित कर्म बनेको छ ।
पात–पत्करका लागि डिपाट सामुदायिक वनमा १५ सय फिटका तीनवटा खाल्डा बनेका छन्भने प्रत्येक खाल्डामा १५ सय ट्रयाक्टर मल उत्पादन हुने गरेको छ । यही उत्पादनमा विमला व्यस्त भएकी छिन् । उनी भन्छिन्, “खाल्डामा मलमात्र होइन, हाम्रो जीवन नै संगालेको महसुस हुन्छ, साना नानी लिएर घरमा आगो बल्ला भनेर रातभर नसुत्ने हामीलाई यही खाल्डाले आनन्दको निद्रा दिएको छ ।” उनलाई करिब १० वर्ष अगाडिसम्म हिउँदमा वन नजिकैको घर डढेलोले जलाउँला भन्ने डर थियो । विस्तारै वनमा काम, खेती र मल उत्पादनको विकल्प ल्याइयो र डढेलो पूर्ण रूप्मा नियन्त्रण भएपछि निद्रा लागेको उनको भनाइ छ ।
अर्धसहरी जीवनशैली भएका र राजमार्ग छेउमा घर भएका विमलाको समुदाय नै यतिबेला सामुदायिक वनभित्र भेटिन्छ । दुईतीनवटा गाईवस्तु पाल्दा अरु काम गर्न नपाइने र त्यसैमा गुजारा नहुने कारण खेती गर्न नै मलले समस्या पारेकामा अहिले भने वनबाट मल र दैनिक ज्यालादारीका रूप्मा आम्दानी दुवै पाइरहेको विमला बताउँछिन् । उनी भन्छिन्, “पहिला मलका लागि अनिवार्य रूप्मा पशु पाल्नुपर्ने बाध्यता थियो, गोठ बनाउने, घाँसदाउरा जोहो गर्ने र पशु स्याहारमै धेरै समय खर्च हुन्थ्यो”, विमला भन्छिन्, “अहिले सामुदायिक वनबाटै कम्पोष्ट मल पाइने भएपछि धेरै सहज भएको छ ।” वनमा झरेका पात–पत्कर, झाडी सफाइबाट निस्किएको जैविक पदार्थ कम्पोष्टमा परिणत भएपछि खेतका लागि पर्याप्त मल उपलब्ध हुन्छ । यसले माटोको उर्वराशक्ति बढाएको छ, बाली उत्पादन राम्रो भएको छ र रासायनिक मल किन्ने खर्च पनि घटेको छ ।
झाडी सफाइ केवल स्वच्छताका लागि मात्र होइन, आम्दानीको स्रोत पनि बनेको छ । वन उपभोक्ता समूहले सफाइबाट सङ्कलित सामग्रीलाई व्यवस्थित रूप्मा मल उत्पादनमा प्रयोग गर्छ । सो मल बिक्री हुँदा समूहलाई आम्दानी हुन्छ, जसको प्रत्यक्ष फाइदा उपभोक्ताले पाउँछन् । विमलाका अनुसार यस आम्दानीले छोराछोरीको पढाइ, घर खर्च र दैनिक आवश्यकतामा सहयोग पुगेको छ । छोराछोरी पाल्न अब पहिलेजस्तो गाह्रो छैन, उनी मुस्कुराउँदै भन्छिन् ।
झाडी सफाइ र पत्कर सङ्कलनले वनभित्र सुक्खा पदार्थ थुप्रिन दिँदैन । यसको व्यवस्थापनले आगलागीको जोखिम घटाएको छ । पहिले हिउँद सुरु हुनासाथ डढेलोको डरले राति निद्रा लाग्दैनथ्यो । अहिले भने वन सफा, चिस्यानयुक्त र निगरानीमा भएकाले समुदाय ढुक्क छ ।
विमलामात्र होइन, यस क्षेत्रका सबै सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताको दैनिकी र उपलब्धि उस्तै छ । डिपाट सामुदायिक वनसँगै सीमा जोडिएको सुनाचुरी सामुदायिक वन उपभोक्ता सरिता ब्लोन बिहानै कागतीका बिरुवा स्याहार गर्न वन पुग्छिन् । उनी भन्छिन्, “पहिले वन संरक्षण भनेको पहरा दिनुमात्र होजस्तो लाग्थ्यो, अहिले वनमै खेती गर्न पाउँदा आम्दानी पनि भयो । वन हाम्रो आफ्नै खेतबारीजस्तो लाग्न थालेको छ ।”
सुनाचुरी सामुदायिक वनकी उपभोक्ता सरिता ब्लोन आज आत्मविश्वासका साथ वनमा काम गरिरहेको देखिन्छिन् । तर उनका लागि १० वर्षअघिको हिउँद अझै पनि डरलाग्दो स्मृतिका रूप्मा रहेको छ । वनको छेउमै घर भएकी उनी भन्छिन्, “राति निद्रा लाग्दैनथ्यो, डढेलोले घर भेट्ला कि भन्ने डर हुन्थ्यो ।” छिमेकीको गोठमा आगलागी भएको घटनापछि धेरै रात अनिँदो बसेको सम्झना अझै ताजा छ । तर अहिले अवस्था फेरिएको छ । वनमा झरेका पात–पत्कर सङ्कलन गरी कम्पोष्ट मल उत्पादन सुरु भएपछि आगलागीको जोखिम न्यून भएको छ । “अब ढुक्क छु”, उनी मुस्कुराउँदै भन्छिन् , “अहिले वनको निजी सम्पत्तिजत्तिकै माया लाग्छ, माया लागेपछि आगो लाग्न नदिने प्रयास आफैँ हुन्छ ।”
सरिताका अनुसार सामुदायिक वनमा कागतीखेती गर्न थालिएपछि वनको हेरचाहमा पनि आफूहरुको ध्यान पुग्न थालेको छ । उक्त कामको फलस्वरूप वनमा आगलागी नभएको उनको भनाइ छ । “पहिले डढेलो नियन्त्रण गर्ने भन्ने हुन्थ्यो तर हामीलाई त्यति चासो थिएन, अहिले भने सबै उपभोक्ताको ध्यान पुग्छ”, उनी भन्छिन् । सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहले परम्परागत संरक्षणको अभ्यासबाट बाहिर निस्कँदै वनलाई आम्दानीसँग जोड्ने रणनीति अपनाएपछि उपभोक्ताको सोच र व्यवहार दुवैमा परिवर्तन आएको छ । पहिले दाउरा र घाँस सङ्कलनमा सीमित उपभोक्ता अहिले बिहानदेखि बेलुकासम्म वनमै व्यस्त देखिन्छन् । वन क्षेत्रमा कागती, तेजपत्ता र अम्रिसोखेती सुरु गरिएपछि उपभोक्ताले नियमित आम्दानीसँगै सामुदायिक वन आगलागीबाट सुरक्षित भएका छन्भने बस्ती पनि आगो लाग्नबाट जोगिएका छन् ।
डिपाट सामुदायिक वनका अध्यक्ष डम्बरबहादुर मोक्तान उज्यालो हुनेबित्तिकै वनमा जान्छन् । उनको नेतृत्वमा उक्त सामुदायिक वनमा कम्पोष्ट मल र तेजपत्ताखेती भइरहेको छ । दिनमा खेती र रातमा पहरेदारीको काम गर्नु आफूहरुको दैनिकी भएको उनी बताउँछन् । ग्रिन फाउन्डेसन नेपालको प्राविधिक सहयोग र वन समूहको आन्तरिक कोषको करिब रु ३५ लाख लगानीबाट उक्त मल उत्पादनको काम सुरु गरिएको अध्यक्ष मोक्तानको भनाइ छ । उनी भन्छन्, “पत्कर जलाउने परम्परा हटेपछि वन सफा भएको छ, आगो सल्किने सम्भावना घटेको छ र किसानका लागि जैविक मलको स्थायी स्रोत बनेको छ ।” उहाँका अनुसार करिब १० वर्षदेखि आगलागी नभए पनि पछिल्ला सात वर्षयता पूर्ण रूप्मा आगलागी शून्य रहेको छ ।
डिपाट सामुदायिक वन आज दिगो वन व्यवस्थापन र स्थानीय समृद्धिको उदाहरण बनेको अध्यक्ष मोक्तानको दाबी छ । उनका अनुसार कुनै समय वनभित्र थुप्रिने पात–पत्कर डढेलोको मुख्य कारण थिए । हरेक सुक्खा मौसमसँगै आगलागीको त्रास थियो । तर उपभोक्ता समूहले ती पत्कर सङ्कलन गरी कम्पोष्ट मल बनाउने निर्णय गरेपछि वन व्यवस्थापनको सोच नै फेरियो । कम्पोष्ट मल उत्पादन र बिक्रीबाट आएको आम्दानी वन संरक्षण, सरसफाइ, आगलागी नियन्त्रण पूर्वतयारी र उपभोक्ता सचेतनामा पुनः लगानी भइरहेको छ । यसले समुदायमा वनप्रतिको अपनत्व र जिम्मेवारी भावना बलियो बनाएको उनको भनाइ छ ।
वन जोगाउन सक्रिय उपभोक्ता
मनहरी गाउँपालिका–७ मा अवस्थित डिपाट सामुदायिक वनसँग सिमाना जोडिएको पशुपति सामुदायिक वन क्षेत्रमा पछिल्ला वर्षहरुमा एक उदाहरणीय अभ्यास सुरु भएको छ । विद्युत् प्रसारण लाइन विस्तारका क्रममा ठूला रुख हटाइएपछि हाइटेन्सन लाइनमुनि खाली जमिन बाँकी थियो । पुनः रुख रोप्न नमिल्ने ती स्थान लामो समयसम्म प्रयोगविहीन रहे, जसका कारण झाडी बढ्ने र हिउँदयाममा आगलागीको जोखिम उच्च बन्दै गएको थियो ।
तर अहिले ती बेवास्तामा परेका क्षेत्र महिलाका लागि आम्दानी र वन संरक्षण दुवैको आधार बनेका छन् । पशुपति सामुदायिक वन उपभोक्ता समूहले हाइटेन्सन लाइनमुनि जडीबुटी, अदुवा र बेसारखेती सुरु गरेपछि वन व्यवस्थापनको स्वरूप् नै फेरिएको छ । खाली जमिन उत्पादनशील बन्दा झाडी बढ्न पाएन, सुक्खा पदार्थ थुप्रिन छाड्यो र आगलागीको सम्भावना उल्लेखनीय रूप्मा घट्यो ।
लालीगुराँस जडीबुटी महिला आयआर्जन समूहकी अध्यक्ष चम्पामाया परियारका अनुसार खेती सुरु भएपछि वनमा बेवास्ता हुने ठाउँ नै बाँकी रहेन । “पहिले यहाँ झाडीमात्र हुन्थ्यो, हिउँद लागेपछि आगो लाग्ला कि भन्ने डर हुन्थ्यो”, उनी भन्छिन्, “अहिले खेत बनेपछि सफाइ पनि हुन्छ, निगरानी पनि बढेको छभने आगलागीको जोखिम घटेको छ ।”
दलित समुदायकी चम्पामायाका लागि यो अभ्यास आर्थिक आम्दानीभन्दा पनि सामाजिक परिवर्तनको कथा बनेको छ । सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध भएपछि उनले लेखपढ गर्न सिकेकी छिन्, बैठकमा आफ्ना कुरा राख्न थालेकोछ र समूहको नेतृत्वसमेत गरेकी छिन् । “पहिले दलित भनेर हेयको नजरले हेरिन्थ्यो, अहिले काम र क्षमताका आधारमा चिनिन थालेकी छु”, उनको अनुभव छ ।
समूहले खेतीसँगै वन संरक्षणलाई पनि प्राथमिकतामा राखेको छ । नियमित झाडी सफाइ, सुक्खा घाँस र पत्कर हटाउने, आगलागी हुनसक्ने स्थानमा सतर्कता अपनाउने र समुदायस्तरमा निगरानी गर्ने काम भइरहेको छ । यसले वन क्षेत्रमा डढेलो हुन नदिनेमात्र होइन, माटो मलिलो बनाउन पनि सहयोग पुगेको समूहको दाबी छ । जडीबुटीखेतीबाट बाँकी रहने जैविक पदार्थ कम्पोष्ट मलमा प्रयोग हुँदा माटोको उर्वराशक्ति बढेको छ ।
वन उपभोक्ता समूहका अनुसार महिलाको सक्रिय सहभागिताले वन संरक्षण थप प्रभावकारी बनेको छ । आम्दानीसँग जोडिएपछि वन जोगाउने जिम्मेवारी पनि साझा बनेको छ । पछिल्ला वर्षमा पशुपति सामुदायिक वन क्षेत्रमा कुनै ठूला आगलागीका घटना नभएको समूहले जनाएको छ । पशुपति सामुदायिक वनको यो अभ्यासले देखाएको छ– सिर्जनात्मक सोच, महिलाको नेतृत्व र सामुदायिक सहभागिता भए वन संरक्षण र जीविकोपार्जनसँगसँगै अघि बढ्न सक्छ । बेवास्तामा परेका जमिन उत्पादनशील बनेका छन्, आगलागीको जोखिम घटेको छ र समुदायमा सामाजिक रूपन्तरणको नयाँ बाटो खुलेको छ ।
वातावरणीय फाइदा : कार्बनदेखि जैविक विविधतासम्म
डिभिजन वन कार्यालय मनहरीका वन अधिकृत सुरेशप्रसाद गुप्ताका अनुसार सुक्खा पत्कर, हुरीबतास र मानवीय लापरवाहीका कारण हरेक वर्ष हजारौँ हेक्टर वन क्षेत्रमा आगलागी हुने गरे पनि मनहरी गाउँपालिकाका सुनाचुरी, डिपाट, पशुपति र मनकामना सामुदायिक वनमा विगत १० वर्षदेखि आगलागी नभएको र पछिल्ला सात वर्षयता पूर्ण रूप्मा शून्यमा झरेको छ । “आगोको जोखिम उच्च मानिने क्षेत्रमा आगलागी शून्य हुनु संयोग होइन”, उनी भन्छन्, “यो सचेत योजना, सामुदायिक सहभागिता र वनलाई आम्दानीसँग जोड्ने दूरदृष्टिको परिणाम हो ।”
डढेलो नलाग्दा कार्बनडाइअक्साइड, मिथेन र सुक्ष्म कणजस्ता हरितगृह ग्यासको उत्सर्जन घटेको छ, जसले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सहयोग पुर्याएको छ । जैविक मल प्रयोग बढेकाले माटोको गुणस्तर, चिस्यानधारण क्षमता र कार्बन सञ्चिति बढेको छ ।
मनहरी क्षेत्रमा निर्माण गरिएका रिचार्ज पोखरीले भूजल पुनःभरण, मुहान संरक्षण, वन्यजन्तुका लागि पानीको उपलब्धता र जल सन्तुलन कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् । विजयसाल, सतिसाल, दार, चिउरी र नीमजस्ता स्थानीय प्रजातिको रोपाइँ तथा लोपोन्मुख सालक (प्याङ्गोलिन) संरक्षणका प्रयासले जैविक विविधता संरक्षणलाई थप मजबुत बनाएको छ ।
सामुदायिक वन उपभोक्ता महासङ्घ मकवानपुरका अध्यक्ष साधुराम चौलागार्इँका अनुसार वनलाई आम्दानीसँग जोडेर आगलागीजस्तो प्रमुख विनाशकारी कारक शून्यमा झारिनु सामुदायिक वनभित्रको सुशासन र दिगो विकासको स्पष्ट उदाहरण हो ।
प्रतिक्रिया