इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहिद दिवसका अवसरमा सहिदहरूको अमर बलिदानबाट प्राप्त लोकतन्त्र, गणतन्त्र र सङ्घीय व्यवस्थालाई जोगाउन संविधानको पक्षमा दृढतापूर्वक उभिनु आजको प्रमुख आवश्यकता भएको बताएका छन्।
सहिद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले सहिदहरूको प्रेरणा, साहस र त्यागकै कारण नेपाली जनताले निरङ्कुश राणा शासनदेखि पञ्चायती व्यवस्था हुँदै विभिन्न निरंकुशताविरुद्धको सङ्घर्ष सफलतापूर्वक अघि बढाउन सकेको बताएका छन् ।
मुख्यमन्त्री कार्कीले पछिल्लो समय पपुलिजमको नाममा यथार्थ लुकाउने र सत्य–तथ्यलाई ओझेलमा पार्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै यसले लोकतान्त्रिक चेतना र सङ्घीय व्यवस्थामाथि प्रश्न उठाइरहेको बताए।
इतिहासले बलिदानको जगमा उभिएको व्यवस्था नाराले होइन, सचेत, धैर्यवान् र विवेकशील नागरिकको भूमिकाले मात्र जोगिने प्रमाणित गरिसकेको उनको भनाइ छ।
२०४६ सालको जनआन्दोलन र २०६२।६३ को ऐतिहासिक आन्दोलन सहिदहरूको त्यही प्रेरणाबाट सम्भव भएको स्मरण गर्दै उनले आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्र ती सङ्घर्षको उपलब्धि भएको बताए।
उनले सङ्घीयताको कार्यान्वयनको चरणमा रहेको मुलुकले अझै पनि विभिन्न चुनौतीहरूको सामना गरिरहेको उल्लेख गरे। सङ्घीय व्यवस्थामाथि निरन्तर प्रहार भइरहेका सन्दर्भमा उत्तेजनाभन्दा संयम, लहडभन्दा विवेक र अस्थिरताभन्दा इमानदारिताका साथ संविधान र लोकतान्त्रिक गणतन्त्रलाई बचाउनुपर्ने उनले जोड दिए।

प्रतिक्रिया