काठमाडौं : नग्न शरीर, शरीरमा गहिरो चोट, र अनुहार पहिचान गर्न कठिन अवस्था—यस्ता शवको भेट लगातार भइरहेका छन्। कोशी प्रदेश, सुनसरी, बराह नगरपालिका–१, मन्दिर परिसरमा गत कातिक १६ गते एक पुरुष मृत अवस्थामा भेटिएका थिए। उनका बारेमा अहिलेसम्म थाहा छैन—कस हुन्, कहाँबाट आएका हुन् र मृत्यु कसरी भयो।
उनको शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा, धरान, सुनसरीको शव गृहमा सुरक्षित राखिएको छ। नेपाल प्रहरीले पहिचान नखुलेका शवको सूचीमा उनको तस्बिर राखेको छ ताकि उनका आफन्तले उनलाई पहिचान गर्न सकून्।
त्यस्तै, कालीगण्डकी नदी किनारमा पानीमा घोप्टो परेको अवस्थामा एक महिलाको शव भेटियो। उनका छालामा पहिचान गर्न सकिने चिह्न थिएन र शरीरमा कपडा पनि थिएन। अहिलेसम्म उनको पहिचान खुल्न सकेको छैन। शव प्राथमिक अस्पताल, वालिङ, स्याङ्जाको शव गृहमा राखिएको छ।
गण्डकी प्रदेश, स्याङ्जा, गल्याङ नगरपालिका–१, परेवाकुनामा ३०–३५ वर्ष उमेरकी महिलाको शव साउन २९ गते भेटिएको थियो। उनी पनि नेपाल प्रहरीले पहिचान नखुलेको शवको सूचीमा राखेका छन्।
कर्णाली प्रदेश, सल्यान, बनगाड कुपिण्डे नगरपालिका–१, भेरी नदीमा छेदविछेद अवस्थामा भेटिएको ३५ वर्ष उमेर अनुमान गरिएको महिलाको शव मंसिर १० गते भेटिएको थियो। शव जिल्ला अस्पताल, सल्यानको शवगृहमा राखिएको छ।
बागमती प्रदेश, धादिङ, धुनिवेशी नगरपालिका–९, मरण घाटमा गत असोज ६ गते अन्दाजी ३० वर्षका पुरुषको शव भेटिएको थियो। उनको पनि अहिलेसम्म पहिचान खुल्न सकेको छैन। शव त्रिवि शिक्षण अस्पताल, फरेन्सिक मेडिसिन विभाग, महाराजगञ्ज, काठमाडौंमा राखिएको छ।
यी उदाहरण मात्र हुन्। देशभर अहिलेसम्म १,२७२ वटा पहिचान नभएका बेवारिसे शव भेटिएका छन्। ती शव पहिचानको पर्खाइमा सम्बन्धित जिल्ला अस्पतालका शवगृहमा सुरक्षित राखिएका छन्। भेटिएका शवको उमेर आठ वर्षदेखि ९५ वर्षसम्म छ। धेरै शव क्षतविच्छेद अवस्थामा भेटिएका थिए।
नेपाल प्रहरीले बेवारिसे शवको पहिचानका लागि वेवसाइटमा तस्बिर र विवरण राखेर पहल गरिरहेको छ। वेवसाइटमा पहिलो पटक शवको हुलिया २०८० माघ १० गते सार्वजनिक गरिएको थियो।
प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्ले भन्छन्, “बेवारिसे अवस्थामा शव भेटिन्छन्। ती शवको मुचुल्का तयार गरी पहिचानका लागि वेवसाइटमा राखिएको छ। शव धेरै समय राख्न मिल्दैन, त्यसैले स्थानीय र जनप्रतिनिधिको रोहवरमा विधिअनुसार अन्त्येष्टि गरिन्छ।”
बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ अनुसार, प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग अन्तर्गत बेवारिसे शव सूचना संकलन र व्यवस्थापन केन्द्र रहेको छ।
निर्देशिकाअनुसार, शवबाट प्राप्त भौतिक प्रमाणको परीक्षण, वैज्ञानिक अभिलेख, फोटोसहितको विवरण सार्वजनिक गरी हकवाला वा आफन्त पहिचान हुन सकेमा हस्तान्तरण गर्न सकिन्छ।
निर्देशिकामा शव व्यवस्थापनमा स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय, विज्ञद्वारा आवश्यक परीक्षण र पहिचानको व्यवस्था, अन्त्येष्टि नभएको शवको हस्तान्तरण, र अन्तर्राष्ट्रिय मापदण्डअनुसार १२ वर्षसम्म सुरक्षित राख्ने व्यवस्था उल्लेख छ।
सिकाइ प्रयोजनका लागि शिक्षण संस्थामा हस्तान्तरण गरिएको शवको प्रयोग सम्पन्न भएपछि सम्बन्धित शिक्षण संस्थाले उपदफा (१) बमोजिम अन्त्येष्टि गर्नुपर्ने व्यवस्था पनि निर्देशिकामा उल्लेख छ।
प्रतिक्रिया