ट्रम्प-मोदी सम्झौता: भारत विरुद्धको ट्यारिफ १८ प्रतिशतमा झारियो

मंगलबार, २० माघ २०८२

भारत र अमेरिकाबीच लामो समयदेखिको व्यापार युद्धमा सम्झौता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सम्झौताको घोषणा गर्दै भारतमाथि लगाइँदै आएको ‘रेसिप्रोकल ट्यारिफ’ (जस्तोलाई त्यस्तै) २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झार्ने निर्णय गरेको जानकारी दिएका छन्।

राष्ट्रपति ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको थियो। त्यसपछि राति करिब १०:३० बजे ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मार्फत सम्झौताको औपचारिक घोषणा गरेका हुन्। ट्रम्पले प्रधानमन्त्री मोदी रूसबाट तेल खरिद रोक्न र अमेरिकाबाट थप तेल खरिद गर्न सहमत भएको दाबी पनि गरेका छन्।

ट्रम्पका अनुसार आवश्यकता परेमा भारतले भेनेजुएलाबाट पनि तेल खरिद गर्ने छ। साथै ‘बाइ अमेरिकन’ नीतिअन्तर्गत भारतले अमेरिकाबाट ५०० अर्ब अमेरिकी डलर (करिब ४६ लाख करोड रुपैयाँ)भन्दा बढीको सामग्री खरिद गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरेको छ। ट्रम्पको घोषणापछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा भारतका १.४ अर्ब जनताको तर्फबाट राष्ट्रपति ट्रम्पप्रति आभार व्यक्त गरेका छन्।

यसअघि ट्रम्पले अप्रिल २५ मा भारतमाथि २५ प्रतिशत रेसिप्रोकल ट्यारिफ लगाउने घोषणा गरेका थिए। त्यसपछि रूसबाट तेल खरिद गरेको कारण देखाउँदै अगस्टमा थप २५ प्रतिशत जरिवाना ट्यारिफको घोषणा गरिएको थियो। तर ह्वाइट हाउसका एक अधिकारीले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार अब भारतमाथि जम्मा १८ प्रतिशत ट्यारिफ मात्र लाग्ने छ। रूसबाट तेल खरिदका कारण लगाइएको २५ प्रतिशत अतिरिक्त ट्यारिफ अमेरिकाले हटाउने निर्णय गरेको छ।

राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘आज बिहान प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्न पाउनु मेरो लागि सम्मानको विषय थियो। रूस-युक्रेन युद्धसहित विभिन्न मुद्दामा छलफल भयो। प्रधानमन्त्री मोदी रूसबाट तेल खरिद रोक्न सहमत हुनुभएको छ। भारत अब अमेरिकाबाट बढी तेल खरिद गर्ने छ। भेनेजुएलाबाट तेल लिने सम्भावनाबारे पनि कुराकानी भएको छ। यसले युक्रेनमा जारी युद्ध अन्त्यतर्फ सहयोग पुग्ने छ, जहाँ हरेक हप्ता हजारौँ मानिसको ज्यान गइरहेको छ।’

उनले थप भने, ‘प्रधानमन्त्री मोदीको मित्रता, आपसी सम्मान र उहाँको आग्रहका आधारमा अमेरिका र भारतबीच तत्काल व्यापार सम्झौतामा सहमति भएको हो। यसअनुसार भारतमाथि लगाइने रेसिप्रोकल ट्यारिफ २५ प्रतिशतबाट घटेर १८ प्रतिशतमा झारिएको छ। उता भारतले पनि अमेरिकाविरुद्धका आफ्ना ट्यारिफ तथा गैर-ट्यारिफ अवरोध शून्यतर्फ लैजाने दिशामा अघि बढ्ने छ। ‘बाइ अमेरिकन’ नीतिअन्तर्गत भारतले ऊर्जा, प्रविधि, कृषि, कोइला तथा अन्य क्षेत्रमा ५०० अर्ब डलरभन्दा बढीका अमेरिकी उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएको छ। म विश्वस्त छु, भारत–अमेरिका सम्बन्ध अझ सुदृढ हुँदै जाने छ।’

भारत-अमेरिका साझेदारी अभूतपूर्व उचाइमा पुग्ने मोदीको विश्वास

प्रधानमन्त्री मोदीले एक्समा लेखेका छन्, ‘राष्ट्रपति ट्रम्पसँग कुरा गर्न पाउँदा निकै खुशी लाग्यो। ‘मेड इन इन्डिया’ उत्पादनमा ट्यारिफ घटाएर १८ प्रतिशतमा झारिएको जानकारीले अत्यन्त सन्तोष मिलेको छ। यस उत्कृष्ट निर्णयका लागि भारतका १.४ अर्ब जनताको तर्फबाट राष्ट्रपति ट्रम्पलाई हृदयदेखि धन्यवाद।’

उनले थप लेखेका छन्, ‘जब विश्वका दुई ठूला अर्थतन्त्र र सबैभन्दा ठूला लोकतन्त्रहरू मिलेर काम गर्छन्, त्यसले जनतालाई प्रत्यक्ष लाभ पुर्याथउँछ र सहकार्यका नयाँ तथा ठूला अवसरहरू सिर्जना गर्छ। म उहाँसँग मिलेर काम गर्न र हाम्रो साझेदारीलाई अभूतपूर्व उचाइमा पुर्यातउन उत्सुक छु।’

कम ट्यारिफ लाग्ने देशहरूको सूचीमा भारत

भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले एनडीटीभीसँगको कुराकानीमा भारत-अमेरिका व्यापार सम्झौता लगभग टुंगिएको पुष्टि गरेका छन्। उनका अनुसार केही प्राविधिक कागजातमा आगामी केही दिनभित्र हस्ताक्षर हुनेछ।
राजदूत गोरले भने, ‘यो ट्यारिफ सम्झौता प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पबीच वर्षौँदेखि कायम रहेको बलियो मित्रताको परिणाम हो। अन्य देशहरूको तुलनामा भारतमाथि लगाइएको ट्यारिफ निकै कम छ। पहिले भारतमा उच्च ट्यारिफ लाग्थ्यो, तर अब भारत कम ट्यारिफ लाग्ने देशहरूको समूहमा समावेश भएको छ।’

उनका अनुसार ट्रम्प र मोदीबीचको मित्रताले नै यो सम्झौता सफल बनाउन निर्णायक भूमिका खेलेको हो। यस व्यापार सम्झौतासँगै अमेरिका-भारत सम्बन्ध नयाँ चरणमा प्रवेश गर्ने र दुई देशबीच सहकार्यका सम्भावना अझ फराकिला हुने विश्वास व्यक्त गरिएको छ।

यसैबीच ह्वाइट हाउसका एक अधिकारीले न्युयोर्क टाइम्सलाई जानकारी दिँदै रूसबाट तेल खरिदको सजायस्वरूप भारतबाट आउने सामानमा लगाइएको अतिरिक्त ट्यारिफ अमेरिकाले हटाउने निर्णय गरेको बताएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार