टिपरको ठक्करले स्कुटर चालकको मृत्यु भएपछि मोरङको नेताचोकमा तनाव

बुधबार, २७ बैशाख २०८०
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–६ नेताचोकमा बुधबार दिउँसो टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनापछि स्थानीय बासिन्दाले टिपर चालकको गल्तीले दुर्घटना भएको भन्दै सडकमा अवरोध गरेका छन् । विराटनगर–विराटचोक सडकखण्डमा दक्षिणतर्फ आइरहेको प्रदेश १–०५–००१ प ३८६० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख ७४०२ नम्बरको टिपरले ठक्कर दिएको थियो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) सुनीलकुमार श्रेष्ठका अनुसार ठक्करलगत्तै स्कुटर चालक उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का ४६ वर्षीय चन्द्रकान्त काफ्लेको त्यहीँ मृत्यु भएको थियो । मृतकको झोलामा रहेको नागरिकताका आधारमा मृतकको पहिचान गरिएको थियो । टिपर चालकको लापरबाहीले दुर्घटना भएको भन्दै आक्रोसित स्थानीय बासिन्दाले सडकमा अवरोध गरेका थिए । उनीहरुको आवरोधका कारण यातायात सञ्चालन प्रभावित बनेको छ । स्थानीयले टिपरमा तोडफोड समेत गरेका छन् । दुर्घटनापछि टिपर चालक फरार छन् । उनको पहिचान खुल्न सकेको छैन । प्रहरीले खोजी भइरहेको जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी (प्रहरी नायव उपरीक्षक) रन्जनकुमार दाहालका अनुसार घटनास्थलमा ठूलो भीड जम्मा भएको छ, उनीहरुलाई सम्झाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार