नेताचोकमा टिपरको ठक्करले मृत्यु हुने व्यक्ति अर्कै भएको खुल्यो

विहीबार, २८ बैशाख २०८०
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–६ नेताचोकमा बुधबार टिपरको ठक्करले मृत्यु भएका स्कुटर चालक अर्कै व्यक्ति भएको खुलेको छ । दुर्घटनामा झापाको अर्जुनधारा नगरपालिका–७ का ४२ वर्षीय जीवन दाहालको मृत्यु भएको खुलेको हो । यसअघि साथमा भेटिएको नागरिकताका आधारमा प्रहरीले मृतक उदयपुरको चौदण्डीगढी–६ घर भइ मोरङको तेतरिया बस्दै आएका ४६ वर्षीय चन्द्रकान्त काफ्ले भनेर जानकारी दिएको थियो । आफन्तले मृतक काफ्ले नभइ झापाको अर्जुनधाराका दाहाल भएको जानकारी प्रहरीलाई गराएका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार साथमा भेटिएको नागरिकतामा मृतक चन्द्रकान्त काफ्ले भनिए पनि दुर्घटनामा अर्कै व्यक्तिको मृत्यु भएको खुलेको हो । भेटिएको नागरिकताबारे अनुसन्धान भइरहेको उनले बताए । प्रदेश १–०५–००१ प ३८६० नम्बरको स्कुटरलाई बागमती प्रदेश ०३–००१ ख ७४०२ नम्बरको टिपरले दिउँसो ४ः४० बजेतिर ठक्कर दिएको थियो । टिपर चालक ग्रामथान–१ का २८ वर्षीय सुरज माझीलाई नियन्त्रणमा लिइएको छ । टिपर चालकको लापरबाहीले दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार