भारतको बथनाहबाट विराटनगर आइपुग्यो कार्गो रेल

विहीबार, १८ जेठ २०८०
विराटनगर । भारतको बथनाहबाट कार्गो रेल विराटनगर आइपुगेको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेपछि भारतको बथनाहबाट छुटेको कार्गो रेल विराटनगर आइपुगेको हो । नयाँ दिल्लीस्थित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएर कार्गो रेल्वे सेवाको उद्घाटन गरेका थिए । विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकीसम्म आइपुगेको कार्गो रेलमा केही उद्योगका लागि कच्चापदार्थ ढुवानी गरिएको छ । भारतको बथनाहाबाट विराटनगरको आईसीपी रेल्वे स्टेसनसम्म बिछ्याइएको आठ किलोमिटर रेलमार्ग तयारी अवस्थामा छ । उक्त रेलमार्ग २०७५ कात्तिक ८ गते रेल सञ्चालनका लागि परीक्षणसमेत भइसकेको छ । बुधबार पनि सो रेलमार्गको पुनःपरीक्षण गरिएको रेल विभागले जनाएको छ । उद्घाटन भएपछि अब रेलमार्ग नियमित रुपमा सञ्चालन हुने जनाइएको छ । बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म १८ दशमलव एक किलोमिटर लामो रेलमार्ग सन् २०११ देखि निर्माण सुरु भएको भए पनि पूरा हुन सकेको छैन । केही स्थानमा मुआब्जा विवाद कायमै छ । उक्त समस्या समाधानका लागि पहल भइरहेको छ । भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा सो रेलमार्ग निर्माण भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार