कोशी प्रदेशसभा बैठक स्थगित, अध्यादेशबाट बजेट ल्याउने तयारी

बुधबार, २४ जेठ २०८०
विराटनगर । कोशी प्रदेश सरकार अल्पमतमा परेसँगै प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । नीति तथा कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा सरकार अल्पमतमा परेसँगै बैठक अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेशसभाका सभामुख बाबुराम गौतमले बताए । मंगलबारको प्रदेशसभा बैठकमा सभामुख गौतमले अर्काे सूचना जारी नहुञ्जेलसम्मका लागि बैठक रोकिएको जानकारी दिएका थिए । अल्पमतमा परेपछि अध्यादेशबाट बजेट ल्याउने तयारी सरकारले गरेको छ । सरकारले बुधबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको थियो । तर, नीति तथा कार्यक्रम प्रस्तुत हुनुपूर्व प्रदेशसभा बैठक स्थगित गरिएपछि बजेटको विषयमा अन्योलता देखिएको छ । नेकपा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशका मुख्यमन्त्री अनुभवी भएको हुँदा चालु संसद्को अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउनेतर्फ नजाने बताउँछन् । उनले चालु अधिवेशन स्थगित गर्दै अध्यादेशबाट बजेट ल्याउनेतर्फ अग्रसर हुनु अलोकतान्त्रिक हुने बताए । एकीकृत समाजवादीका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले चालु अधिवेशन अन्त्य गरी अध्यादेशको माध्यमबाट सरकार अघि बढ्न नहुनेमा जोड दिन्छन् । अर्कोतर्फ, एमाले संसदीय दलका नेता रेवतीरमण भण्डारी अहिलेको परिस्थितिसँगै नयाँ ढंगबाट प्रदेशको बजेट आउने बताउँछन्। उनले भने, ‘अहिलेको नयाँ परिस्थितिसँगै बजेट पनि नयाँ ढंगबाट आउने तयारी भइरहेको छ । हामी अध्यादेशतर्फ पनि जान सक्ने अवस्था रहेको छ।’ प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार