धरान, शान्तिपथ घर भएकी नरमाया रोका पानी अभावका कारण चर्को समस्या परेको बताउँछिन् । ‘पिउन, लुगा धुन, नुहाउन केटाकेटीलाई पानी छैन’ उनी भन्छिन् ‘खानेपानी बोर्डले दिन बिराएर वितरण गर्ने गरे पनि हुनेखानेले हेप्छन्, हामी त हेरेको हेर्यै ।’
सोही ठाउँका रमेश बुढाथोकी पनि माघ लागेदेखि धरानको मुख्य क्षेत्रमा पानीको चरम अभाव रहेको बताउँछन् । वर्षायाममा उति समस्या नभए पनि हिउँदका ५ महिना चरम समस्या हुने गरेको उनको अनुभव छ ।
‘सुक्खा याममा धरान काकाकुलको सहरजस्तो हुन्छ’ बुढाथोकी भन्छन्, ‘भएको पानी समान वितरण गरे सबैले खान पाउने थिए तर यहाँ बोर्डले यस्ता कुरामा चासो देखाएको छैन ।’
रातको २–३ बजे पानी आयो भन्ने हल्ला हुन्छ । घरका भाँडा लिएर निस्कियो बिहानको १० बज्दा पनि पानी नआउने गरेको स्थानीय रुपेश मास्के बताउँछन् । उनले एसियाली विकास बैंक (एडीबी) र संस्थानको पानी वितरणमा समस्या रहेको बताउँदै समान रुपले वितरण हुनुपर्ने धारणा राखे ।
धरानमा दैनिक करिब ३ करोड लिटर खानेपानीको माग छ । भूमिगत १ करोड ५० लाख लिटर, सर्दु खर्दु सतहको थप ३० लाख लिटर खानेपानीको दैनिक आपूर्ति हुन्छ । आपूर्ति भएको पानी पाइप टुटफुट तथा लिकभएर खेर जाने गरेका कारण पानीको समान वितरण भएको छैन ।
अर्कातर्फ श्रमदानबाट ल्याएको खोलाको पानी समेत लामो समयको खडेरीका कारण सुकेपछि अभाव थपिँदै गएको छ । श्रमदानबाट पानी खुवाउने अठोट बोकेर अभियान चलाएका नगर प्रमुख हर्कराज राई श्रमदानबाट वर्षायाममा सहज भए पनि हिउँदमा पुरानै समस्या दोहोरिएको बताउँछन् ।
उनले धरानको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सप्तकोशी नदीको बिकल्प नरहेको बताउँछन् । ‘हामीले श्रमदान गरेको धरानको दीर्घकालीन समाधान हैन, तत्काललाई केही सहज होस् भन्ने उद्देश्यले हो’ नगर प्रमुख राई भन्छन् ‘अबको ३०–४० वर्षसम्म अभाव हुन नदिनका लागि कोशीको विकल्प छैन ।’
धरानमा देखिएको पानी अभावबारे संघीय सरकारले समेत चासो देखाएको छ । सरकारको बजेटमा धरान र भरतपुरमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुरु गर्ने उल्लेख छ ।
प्रतिक्रिया