मोरङको लेटाङमा सर्पले डसेर बालकको मृत्यु

शनिबार, ०२ असार २०८०
विराटनगर । सर्पले डसेर मोरङको लेटाङ नगरपालिका–१ साक्फारामा शुक्रबार राति एक बालकको मृत्यु भएको छ । सर्पले डस्दा स्थानीय सुजन मगरका ५ वर्षीय छोरा समीतको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । ओछ्यानमा सुतिरहेका नाबालकलाई शुक्रबार बिहान ५ बजेतिर सर्पले डसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । ओछ्यानमै चिच्याउन थालेपछि अभिभावकले हेर्दा हरियो रंगको सर्प देखेका थिए । दाहिने हातको पातोमा नीलडाम रहेको अवस्थामा नाबालकलाई अभिभावकले उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए । चिकित्सकले आईसीयूमा राखेर उपचार प्रक्रिया अघि बढाउन सुझाव दिएपनि अभिभावकले घर फर्काएर लगेको पाइएको डीएसपी दाहालको भनाइ छ । अवस्था गम्भीर बन्दै गएपछि नाबालकलाई विराटनगरस्थित नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । अस्पताल ल्याइपुर्ण्याउनसाथ राति १० बजेतिर चिकित्सकले मृत घोषित गरेका थिए । नाबालकको पारिवारिक आर्थिक अवस्था कमजोर छ । छोरालाई सर्पले टोकेपनि पैसा अभाव भएका कारण समयमा उपचार गराउन नसकिएको बुवा सुजनले बताए । अस्पताल पुर्याउँदा डाक्टरले आईसीयूमा राखेर उपचार गर्नुपर्छ भनेको तर आफूसँग पैसा नभएकाले घर फर्काएर लगेको उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार