असोजमा जिल्ला सम्मेलन गर्ने झापा कांग्रेसको निर्णय

शनिबार, ०२ असार २०८०
बिर्तामोड । नेपाली कांग्रेस झापाले आगामी भदौ २० गतेसम्ममा तहगत सम्मेलन सकेर आगामी असोजमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न जिल्ला कार्य समितिको बैठकले साउनको १५ गतेदेखि २२ गतेसम्म वडा सम्मेलन, साउन २३ देखि ३२ गतेसम्ममा गाउँ नगर सम्मेलन, भदौ १ गतेदेखि १० गतेसम्म प्रदेशसभा क्षेत्रीय सम्मेलन र भदौ ११ गतेदेखि २० गतेसम्ममा संसदीय निर्वाचन क्षेत्रको क्षेत्रीय सम्मेलन गर्ने निर्णय गरेको हो । वडा सम्मेलनमा वडा कार्य समिति, जिल्लाले तोकेका प्रतिनिधि, सबै क्रियाशील सदस्य, क्षेत्रीय प्रतिनिधि, वडामा रहेका भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधि, पार्टीको माथिल्लो इकाइ समितिका पदाधिकारी, सदस्यहरु, जनप्रतिनिधिहरु सहभागी हुनेछन् । गाउँ–नगर, प्रदेश सभा र क्षेत्रीय सम्मेलनमा क्षेत्रीय प्रतिनिधि, सम्बन्धित समितिका पदाधिकारी–सदस्य, भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, माथिल्लो इकाइ समितिका पदाधिकारी–सदस्यहरु एवं जनप्रतिनिधिहरु सहभागी हुनेछन् । वडामा खटिएका जिल्ला प्रतिनिधिहरुले सम्बन्धित वडा र पालिका सभापतिसँग समन्वय गरेर वडा सम्मेलन सम्पन्न गर्ने, सामाजिक सञ्जाललाई पार्टी, देश र जनहितमा सदुपयोग गर्न, अनावश्यक विषयमा टिकाटिप्पणी गरेर विवादमा नफस्न पनि जिल्ला कार्य समितिको बैठकले पार्टीको सबै तहका पदाधिकारी–सदस्यहरुलाई आग्रह गरेको छ । बैठकमा सभापति देउकुमार थेवे, उपसभापति शेरबहादुर भट्टराई र केशवराज पाण्डेले सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिएका थिए । जिल्ला सदस्य राम कट्टेलले एकताबद्ध ढंगले पार्टीका निर्णयहरुलाई कार्यान्वयनमा लैजानुपर्ने धारणा राखेका थिए । बैठकमा सचिव कृष्ण हुमागाईले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार