बाढीमा परी पाँचथर र ताप्लेजुङमा १० जना बेपत्ता

आइतबार, ०३ असार २०८०
पाँचथर । बाढीले ताप्लेजुङ र पाँचथर जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बाढीले बगाँउदा हालसम्म दुई जिल्लामा गरी १० जना बेपत्ता भएका छन् । पाँचथरको हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ - ७ का दिलकुमार तामाङ र फिदिम - १० का सन्जोग लोवासहित ६ जना बेपत्ता भएका छन् । बाढीले फिदिम - ४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाँउदै आएका एक, फालेलुङ - ३ मा एक र फिदिम - ४ माझीटारमा २ गरी ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले बताए । बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेवा खोला पुल बगाएको छ । पुल बगाएसँगै मेची राजमार्गसमेत पूर्णरूपमा अवरुद्ध भएको छ । यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुईवटा मोटरेवल र एउटा झोलुङ्गे पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । यस्तै याङवरक गाउँपालिका - ३ र २ मा केही घर बगाएको भएपनि क्षतिको विवरण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । ताप्लेजुङमा चार बेपत्ता ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता भएका हुन् । यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता भएका छन् । खोला छेउमा घर भएका तामाङले ठूलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएको बताइएको छ । घटना क्षेत्रमा साब्लाखु प्रहरी चौकीबाट प्रहरीको टोली गइरहेको सिदिङ्वा गाउँपालिका उपप्रमुख बन्दना कडरियाले जानकारी दिए । मेहेलेका राजकुमार गौतमको एउटा घर बगेको छ भने अर्को घर जोखिममा छ । यस्तै देउकुमार लिङ्देन र गुमान राईको घर जोखिममा परेको छ भने मेहेले स्वास्थ्यचौकीको भवन पूर्णरूपमा पहिरोले बगाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार