पहिचान पक्षधर र कोसी प्रदेश सरकारबीच वार्ता सुरु

सोमबार, ०४ असार २०८०
विराटनगर । आन्दोलनरत पहिचान पक्षधर र कोसी प्रदेश सरकारबीच विराटनगरमा वार्ता सुरु भएको छ । कोसी प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै लामो समयदेखि आन्दोलनरत पहिचान पक्षधर र सरकारबीच पहिलोपटक औपचारिक वार्ता भएको हो । विराटनगरको बिग होटलमा सुरु भएको वार्तामा पहिचान पक्षधरको आन्दोलन, उनीहरुले राखेका माग, सरकारले गर्नसक्ने सम्बोधनलगायतका विषयमा छलफल भइरहेको बताइएको छ । कोसी नाम खारेजी र बहुपहिचानका आधारमा प्रदेशको पुनः नामकरण हुनुपर्ने माग राखेर पहिचानवादीहरु आन्दोलनमा छन् । वार्तामा सरकारका तर्फबाट वार्ता टोली संयोजक एवं प्रदेशका सिँचाई खानेपानी तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बो तथा सदस्यहरु उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी सहभागी छन् । आन्दोलनकारीका तर्फबाट गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, ग्याल्जे शेर्पा, कुमार लिङ्देन ‘मिराक’, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जबेगू सहभागी छन् । सरकारले औपचारिक आह्वान गरेपछि त्यसलाई स्वीकार गर्दै पहिचान पक्षधरका तर्फबाट पनि आइतबार वार्ता समिति बनाइएको थियो । प्रदेशसभाको दुईतिहाइभन्दा बढी बहुमतले गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम कोसी राखेपछि त्यसको विरोधमा पहिचान पक्षधर आन्दोलित छन् । प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले चरणवद्ध आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार