‘बैंक तथा वित्तीय संस्थाका म्यानेजर नै मिटरब्याजी’

सोमबार, ११ असार २०८०
झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा मेची ब्यूरो इञ्चार्ज सुमनसिंह पौडेलले बैंक तथा बित्तीय संस्थाका प्रमुख नै मिटरव्याजी रहेको आरोप लगाएका छन् । पछिल्लो समय मिटरब्याजी पीडितका समस्या हल गर्न राज्यले आयोग बनाए पनि आयोगले प्रभावकारी काम नगर्दा राज्यप्रति जनताको भरोसा टुट्दै गएको उनको भनाई छ । विशेष गरी बैंक तथा बित्तीय संस्थाका म्यानेजरहरुले मिटरव्याज चलाएर नागरिकलाई दुःख दिएको पौडेलको आरोप छ । बैंक तथा बित्तीय संस्थाले मिटरव्याजको कारोवार चलाएको भन्दै राज्यले त्यस्ता बैंक तथा वित्तीय संस्थाको अनुगमन र छानविन गर्नु पर्ने उनको भनाई छ । बैंक तथा बित्तीय संस्थाका म्यानेजरले ऋण दिन्छु भन्दै सर्बसाधारणलाई महिनौंसम्म झुलाएको र अन्तिममा मिटरव्याजीको हातमा पु¥याएर उनीहरुसँगको मिलेमतोमा पैसा असुल्ने गरेको पौडेलको आरोप छ । बैंक तथा वित्तीय संस्थाका म्यानेजरहरुलाई मानिसलाई जबरजस्ती पीडित बनाएर रकम नअसुल्न उनको सुझाव छ । बैंक तथा बित्तीय संस्थाका कै कारण व्यवसाय र उद्योग धन्दा डुबेको भन्दै पौडेलले भने ‘झापामा पनि उत्पादनका लागि खोलिएका कयौं कलकारखाना बन्द भएका छन् । सयौ मानिस बैंक तथा वित्तीय संस्थाले घरबार विहीन बनाएको अवस्था छ यस्तो गर्न मिल्छ ?’ पञ्चायत र राणकालीन समयमा समेत नभएको ज्यादती अहिले भएको भन्दै सबै बैक तथा वित्तीय संस्थाका म्यानेजरलाई सच्चिन उनले आग्रह गरे । पछिल्लो समय मिटर व्याज पीडित र बैंक तथा बित्तीय संस्थाका कारण पीडित बनेकाहरुको पक्षमा बोल्दै आएको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) ले झापाका केही स्थानमा घर समेत कब्जा गर्दै सहकारीका कार्यालयमा तालाबन्दी गर्न शुरु गरेको छ । विर्तामोडस्थित कृषिथोक बजार नजिकै रहेको नवराज विमलीको घरमा सो पार्टीले विमली मिटरव्याजी रहेको भन्दै घर कब्जा गरेको घोषणा गरेको छ । त्यस्तै झापा गाउँपालिकामा र दमकमा शाखा कार्यालय रहेको जीवन विकास संस्थाको कार्यलयमा तालाबन्दी समेत गरेको छ । झापामा १०६ जनाले आफूहरु मिटरव्याजीबाट पीडित बनेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । त्यसको छानविन प्रक्रिया भने अघि बढाइएको छैन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार