कोशी प्रदेशसभाको अधिवेशन असार १४ गतेका लागि आह्वान

सोमबार, ११ असार २०८०
विराटनगर । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले प्रदेशसभा को तेस्रो अधिवेशन असार १४ गतेका लागि आह्वान गरेका छन् । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधार १ बमोजिम खापुङले सोमबार प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार असार १४ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरिएको छ । प्रदेशको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन आह्वान गरिएको हो । नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) ले समर्थन फिर्ता लिएपछि नेकपा (एमालें) का नेता कार्की नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । प्रदेश सरकारले बजेट अधिवेशन अन्त्य गर्दै गत जेठ ३२ गते अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट ल्याएको थियो । जेठ ३१ गते संसदमै नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । विश्वासको मतभन्दा पहिला संसदमा बजेट अध्यादेश पेस गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण सरकारले अधिवेशन आह्वान गरेको हो । कोसी प्रदेशको ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुग्न ४७ सांसद आवश्यक पर्छ । सत्तारुढ एमालेको ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ सांसद छन् । एमालेका नेतासमेत रहेका मुख्यमन्त्री कार्कीको समर्थनमा हालसम्म ४६ सांसद मात्रै छन् । उनलाई विश्वासको मतका लागि थप १ मत आवश्यक छ । नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपा भने कार्की नेतृत्वको सरकार ढालेर केन्द्रीय गठबन्धन अनुसार नै प्रदेश सरकार गठनको गृहकार्यमा छन् । प्रदेशसभामा कांग्रेसका २९, सभामुखबाहेक माओवादीका १२, समाजवादीको ४ र जसपाको १ जना सांसद छन् । सभामुख बाबुराम गौतम माओवादीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । सभामुखबाहेक विपक्षी गठबन्धनसँग पनि ४६ जना सांसद छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार