आर्थिक वर्ष २०८०/८१ को बजेट प्रतिनिधिसभाबाट पारित

बुधबार, १३ असार २०८०
काठमाडौँ । आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले मत विभाजनको माग गरेपछि त्यही विधिबाट बजेट पारित भएको हो । मत विभाजनका क्रममा बजेटको पक्षमा १४७ र विपक्षमा १०८ मत परेको थियो । बैठकमा २५५ जना सांसद उपस्थित थिए । बजेटको पक्षमा सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीलगायतले मत दिएका थिए । विपक्षमा भने एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले मत दिएका थिए । अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिएसँगै प्रक्रियामा लगेर सभामुख देवराज घिमिरेले बहुमतले पारित भएको घोषणा गरेका थिए । एमालेका तर्फबाट सचेतक महेश बर्तौलाले विपक्षमा रहेका सांसद धेरै रहेको दाबी गर्दै मत विभाजनको माग गरेपछि प्रक्रियामा लगिएको थियो । निर्वाचन कार्यालयहरु जिल्ला प्रशासन कार्यालयमा गाभ्ने भन्ने बजेटको व्यवस्थाबाहेक अन्य सबै विषय यथास्थितिमा पारित भएको छ । विनियोजन विधेयक, २०८० लाई निर्णयार्थ प्रस्तुत गरियोस् भनेर अर्थमन्त्री प्रकाशशरण महतले पेस गरेकोमा प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो । बजेट पारित गर्नका लागि सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, सत्तारुढ दलहरू कांग्रेस, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टीले सांसदहरूलाई ह्वीप लगाएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार