इटहरी । कोशी र मेचीका क्रसर व्यवसायी असार १८ गतेदेखि उद्योग बन्द गरेर आन्दोलनमा उत्रने भएका छन् । सुनसरीको इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै क्रसर उद्योगको कम्पनी नवीकरण गर्न सरकारले चासो नलिएको बताउँदै उनीहरुले आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् ।
सरकारले क्रसर बन्द गराउने, नवीकरण नगर्ने तर आयकर, भ्याट नियमित तिर्नुपर्दा धान्न नसक्ने भएकाले क्रसर बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
सरकारले असार १८ गतेसम्म नवीकरण गर्ने प्रतिबद्धता नजनाए चरणबद्ध आन्दोलनमा उत्रने समेत चेतावनी उनीहरुको छ ।
मेची क्रसर व्यवसायी संघका अध्यक्ष शेरबहादुर थापाले सरकारका कारण क्रसर व्यवसाय धरापमा परेको आरोप लगाए । उनले पटक पटकको कानुन र ऐनले समस्या पारेको भन्दै सरकारको दीर्घकालीन सोच नै नभएको टिप्पणी गरे ।
‘राज्यले, आम जनताले क्रसर व्यवसायीलाई हेर्ने सोच नै तस्कर हो भन्ने छ’ अध्यक्ष थापाले भने ‘हामीले राज्यलाई कर तिर्छाै, कम्पनी नवीकरण गरेका छौं तर हामी तस्कर भएका छौं ।’
नेपाल क्रसर तथा खानी उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष देवराज तामाङले सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेपालको नदीजन्य पदार्थ भारत निर्यात गर्ने तर नेपालका उद्योग बन्द गर्ने योजनाबारे बुझ्न नसकेको बताए ।
तामाङले नेपालको नदीजन्य पदार्थ नेपालमै प्रयोग हुनु पर्ने धारणा राखे । सरकारले कम्पनी नवीकरण गरेर नेपालका उद्योग कलकारखानालाई चाहिने पदार्थ नेपालमै खपत गर्नु पर्नेमा जोड दिए ।
२०७९ पुस २० गते सरकारले क्रसर, बालुवा तथा खानी उद्योग बन्द गराई अवैध रुपमा खोलिएका तथा कानुनबाहिर सञ्चालनमा रहेका उद्योग बन्द गर्ने भन्दै छानबिन गरेको थियो ।
माघ ११ गतेको बैठकले असार मसान्तसम्म सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर आर्थिक वर्ष सकिनै लाग्दा पनि नवीकरण गर्न सरकारले चासो देखाएको छैन । नेपालभर २५ सय क्रसर कम्पनी छन् । तिनमा २ लाख कामदार रहेको व्यवसायीले जनाएका छन् ।
प्रतिक्रिया