क्रसर उद्योगीहरुले आजदेखि आपूर्ति रोक्ने

शनिबार, १६ असार २०८०
इटहरी । सरकारले सहमति पालना नगरेको भन्दै क्रसर उद्योगीहरुले आज शनिबारदेखि ढुङ्‍गा, गिट्टी र बालुवाको आपूर्ति ठप्प पार्ने भएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको आह्वानमा क्रसर उद्योगहरु बन्द हुन लागेका हुन् । क्रसर उद्योग नवीकरण नभएको भन्दै महासंघले ढुङ्‍गा, गिट्टी, बालुवाको बिक्री वितरण रोक्ने घोषणा गरेको हो । महासंघले माघ ११ गते भएको क्रसर उद्योगको दर्ता नवीकरण गर्ने निर्णय कार्यान्वयन नभएको भन्दै आन्दोलनमा जाने निर्णय गरेको हो । असार ३ गते महासंघले माग पूरा नभए देशभरका क्रसर उद्योगबाट निर्माणजन्य सामग्रीको आपूर्ति ठप्प पार्ने चेतावनी दिएको थियो । महासंघका महासचिव पुरुषोत्तम रेग्मीले निर्णय गरेर पनि सरकारले सहमति कार्यान्वयन नगरेपछि आन्दोलनमा जानमा जानुपरेको बताए । पछिल्लोपटक दिएको म्यादअनुसार अवैध रुपमा चलिरहेका क्रसर उद्योगहरु आगामी असार मसान्तभित्र वैध भएर सञ्चालन गरिसक्नुपर्छ । गत माघमा मन्त्रिपरिषद्ले तत्कालीन समयमा इजाजत लिइ दर्ता भएका तर, मापदण्डका कारण नवीकरण हुन नसकेका उद्योगलाई असारसम्मका लागि नवीकरण गर्ने निर्णय गरेको थियो । उद्योगीहरुले भने सरकारको निर्णयले दर्ता भएका सबै उद्योगहरु स्वतः वैध हुने दाबी गरेका छन् । मन्त्रिपरिषद्को निर्णय अस्पष्ट भएको भन्दै जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयहरु क्रसर नवीकरण गर्न तयार भएका छैनन् । निर्णय कार्यान्वयन गर्न दबाब दिने उद्देश्यसहित व्यवसायीले आन्दोलन थालेका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार