दाबी आ-आफ्नै, को बन्ला कोशी प्रदेशको मुख्यमन्त्री ?

शनिबार, १६ असार २०८०
विराटनगर । केन्द्रीय राजनीतिमा फेरिएको समीकरणसँगै प्रदेशहरुमा परेको प्रभावका कारण सबैजसो प्रादेशिक सरकारमा फेरबदल भएको छ । अन्तिममा सातौँ प्रदेशका रुपमा कोशी प्रदेशको नेतृत्वसँगै सरकार पनि फेरिने क्रममा छ । नेकपा (एमाले) को नेतृत्वमा रहेको सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वमा रहेको सरकारले विश्वासको मत पाउन नसक्दा अर्को सरकार बन्ने अवस्था आएको छ । सत्ता साझेदारीमा सहकार्य गरेका नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वको सरकार अल्पमतमा परेको थियो । आफूमाथि बहुसंख्यक सांसदहरुको समर्थन रहेको पुष्टि गर्न मुख्यमन्त्री कार्कीले प्रदेशसभामा राखेको विश्वासको प्रस्ताव पारित हुन सकेन । आवश्यक संख्या पुग्न नसक्दा उनी नेतृत्वको सरकार ढल्न पुगेको हो । सरकार ढलेसँगै अब नेतृत्वमा को आउने भन्ने हानथाप सुरु भइसकेको छ । मुख्य प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र माओवादीले सरकारको नेतृत्वमा दाबी गरिरहेका छन् । उनीहरु आफ्ना पक्षमा सांसदहरुलाई ल्याउने प्रयत्नमा लागेका छन् । कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था आयो भने संसदीय दलका नेता उद्धव थापाले नेतृत्व गर्ने सम्भावना छ । उनले यसअघि पटक पटक आफ्नो पार्टीले नेतृत्वको अवसर पाए आफू नै मुख्यमन्त्री हुने बताउँदै आएका छन् । यस्तै, माओवादीले पनि सरकारको नेतृत्वमा आफ्नो दाबी छाडेको छैन । यसअघि अरु सरकार बनाउन सहयोग गरेको भन्दै अब आफ्नो पालो रहने उसको भनाइ छ । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो सरकारको अबको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने बताउँछन् । कोशी प्रदेशसभामा रहेको दलीय प्रतिनिधित्व हेर्दा सरकार बनाउन सकस पर्ने अवस्था आएको हो । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्य चाहिन्छ । माओवादी केन्द्रबाट निर्वाचित भएका बाबुराम गौतम सभामुखको जिम्मेवारीमा छन् । उनीबाहेक विपक्षी गठबन्धनसँग ४६ प्रदेशसभा सदस्य छन् । कांग्रेसका २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ४ र जसपाका एकजना प्रदेशसभा सदस्य छन् । प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेसँग ४० र राप्रपासँग ६ सिट छ । एमाले र राप्रपाले सहकार्य गर्दै आएका छन् । विश्वासको मतका पक्षमा पनि एमालेबाहेक राप्रपाका सांसदहरुले मतदान गरेका थिए । नयाँ सरकार गठनको गृहकार्य सुरु भए पनि कसको नेतृत्व हुने भन्ने यकिन भइसकेको छैन । विपक्षी गठबन्धनले राप्रपालाई साथ लिएर नयाँ सरकार गठनको प्रयास गरिरहेको छ । कांग्रेस र माओवादी दुवैले सरकारको नेतृत्वमा दाबी गरिरहे पनि केन्द्रबाट शीर्ष नेताहरुले कस्तो निर्देशन गर्छन् भन्नेमा यहाँको सरकार निर्माणमा प्रभाव पर्ने निश्चित छ । माओवादीका एकजना नेताका अनुसार हाललाई सरकारमा दुवै दलले दाबी गर्नु स्वाभाविक भए पनि शीर्ष नेतृत्वमा हुने सहमतिले यसको छिनोफानो गर्नेछ । केन्द्रमा गठबन्धनलाई निरन्तरता दिन शीर्ष नेताहरुले जोडबल गरिरहेका छन् । कोशी प्रदेशको नेतृत्वमा कसले अवसर पाउला भन्ने कुरा शीर्ष नेताहरुकै निर्देशनमा भर पर्ने ती नेताको भनाइ छ । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म वर्तमान प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोकेका छन् । अब उनले नयाँ सरकार गठन गर्नका लागि आह्वान गर्नेछन् । प्रदेश प्रमुखले कुनै पनि एकल दलको बहुमत नपुगे संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सरकार दाबी गर्न आह्वान गर्ने प्रावधान छ । संविधानको १६८ को उपधारा २ मा ‘प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ’ भन्ने उल्लेख छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा प्राप्त दलको नेताको हैसियतमा हिक्मतकुमार कार्की पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार