विराटनगर । कोश प्रदेशका प्रमुख पर्शुराम खापुङले प्रदेशमा नयाँ सरकार गठनका लागि आइतबार आह्वान गरेका छन् ।
असार २१ गते बिहीबार अपराह्न ५ बजेसम्मको समय दिएर नयाँ सरकारका लागि आह्वान गरिएको हो ।
प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेको जानकारी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले दिए ।
प्रवक्ता श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभाको सदस्यलाई सरकारको मुख्यमन्त्री नियुक्ति गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गर्नु भएको छ ।’
संविधानको यही धारा अनुसार यसअघि गठन भएको नेकपा (एमाले) कोसी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।
एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) ले जेठ १७ र नेकपा (माओवादी केन्द्र) ले जेठ २३ गते फिर्ता लिएका थिए ।
त्यसपछि अल्पमतमा परेका मुख्यमन्त्रीले विश्वासको मत पाउन सकेनन् । प्रदेशसभामा भएको मत विभाजनमा विश्वासको मतको पक्षमा ४६ र विपक्षमा ४३ मत परेको थियो ।
९३ सदस्यीय प्रदेशसभामा सरकारलाई बहुमत जुटाउनका लागि ४७ मत चाहिन्छ ।
पक्षमा एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६ जनाको समर्थन थियो भने विपक्षमा नेपाली कांग्रेसका २८, माओवादीका ११, नेकपा (एकीकृत समाजवादी) का ४ सांसदले मत दिएका थिए ।
मतदानका बेला कांग्रेस र माओवादीका १–१ जना प्रदेशसभा सदस्य अनुपस्थित थिए । जसपा भने तटस्थ रहयो ।
प्रतिक्रिया