युवा संघको चार महिने अभियान सुरू

सोमबार, १८ असार २०८०
झापा । नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको झापा जिल्ला कमिटीले ‘समाज परिवर्तनको अभियान, नवयुवाको योगदान’ भन्ने नारासाथ चार महिने अभियान सुरु गरेको छ । अभियानको शनिवार बिर्तामोडस्थित पार्टी कार्यालयमा उद्घाटन गरिएको थियो । संघका केन्द्रिय उपाध्यक्ष समेत रहेका अभियानका उत्प्रेरक कृष्णहरी केसी र संविधान सभाका सदस्य समेत रहेका एमाले झापा अध्यक्ष दीपक कार्कीले संयुक्त रुपमा उद्घाटन गरेका थिए । झापाका स्थानीय तह वडा र टोलमा यो अभियान केन्द्रित हुनेछ । केन्द्रिय कमिटीबाट जिम्मेवारी प्राप्त गर्ने नेता पालिका कमिटीमा परिचालित हुने छन् । यस्तै प्रदेश कमिटीका युवा नेता र जिल्ला कमिटीका सचिवालय सदस्य केन्द्रबाट तोकिएका उत्प्रेरकलाई सहयोगका लागि परिचालित हुने नियम राष्ट्रिय युवा संघ नेपालले बताएको छ । जिल्ला कमिटीका सदस्यहरु वडामा, पालिका कमिटीका टोलमा र वडा कमिटीका टोलमा परिचालित हुनेभएका छन् । यो अभियान २०८४ मा हुने संघ, प्रदेश र स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सञ्चालन गरिएको संघका झापा अध्यक्ष तथा अभियानका संयोजक फुर्वा लामाले बताए । उनका अनुसार अभियानले १६ देखि २५ बर्षको उमेर समूहका ४ लाख नवयुवाहरुलाई संघको सदस्यता वितरण गर्ने र ४ लाख नयाँ भोट सूर्य चिन्हमा बृद्धि गर्ने लक्ष्य लिएको छ । अभियान २०८० असोज १ गते सम्म सञ्चालन हुनेछ । ०८४ सालमा हुने तीन तहकै निर्वाचनमा एमालेलाई मुलुकमा पहिलो शक्तिका रुपमा स्थापित गर्ने अभियानको मुख्य उद्देश्य रहेको संयोजक लामाले जानकारी दिए । त्यसका लागि झापामा कम्तीमा १५ हजार युवाहरुलाई संघको सदस्यता वितरण गर्ने लक्ष्य लिएको उनले बताएका छन् । जिल्ला तथा मातहतका पालिका, वडा तथा टोल कमिटीहरुको अधिवेशन, विशेष अधिवेशन आयोजना गरी कमिटीलाई चुस्त, दुरुस्त राख्ने पनि चार महिने अभियानको कार्ययोजना हो । किशोर किशोरीहरुलाई अभियानमा सहभागी गराएर सार्वजनिक संघ संस्थाहरुले गरिरहेका कामहरुको अध्ययन, अनुसन्धान गरी गुण र दोषका आधारमा समर्थन र विरोध गर्न सूचनाको हक प्रयोग गर्ने पनि कार्ययोजनामा उल्लेख छ । भ्रष्ट्राचार, विधिको सासन स्थापित गर्न समाज विकासको बाधक तत्वको रुपमा रहेको कुरिती, कुसंस्कार, विकृती, विसंगतिविरुद्ध अभियान सञ्चालन गर्ने पनि अध्यक्ष लामाले बताए । कार्यक्रममा राष्ट्रिय युवासंघ नेपालका केन्द्रिय सदस्य निशा लिम्बु, सागर पोर्तेल, खगेन्द्र राज आङदम्बे र रोजिना पाण्डेलगायतको सहभागिता थियो । कार्यक्रम डिल्लीराम पोख्रेलले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार