लागूऔषधविरुद्ध मोरङका गाउँमा प्रहरी अभियानः धमाधम पक्राउ पर्दै कारोबारी र दुर्व्यसनी

बुधबार, २० असार २०८०
विराटनगर । प्रहरीले मोरङका ग्रामीण क्षेत्रमा लागूऔषध एवं प्रतिबन्धित औषधिको कारोबार र प्रयोग रोक्ने अभियान चलाएको छ । भारतसँगको खुला सीमाको फाइदा उठाउँदै कारोबारीले नेपालमा लागूऔषध र प्रतिबन्धित औषधि भित्र्याउने अनि गाउँ गाउँसम्म पुर्याउने गरेका छन् । प्रयोगकर्तासम्म पुर्याउने विभिन्न समूह सक्रिय रहेको पाइएपछि प्रहरीले त्यसविरुद्ध अभियान चलाएको हो । प्रहरीले लेटाङको ग्रामीण क्षेत्रमा लागूऔषधविरुद्ध प्रहरीले विशेष अप्रेशन चलाइरहेको छ । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक विकाश थपलिया नेतृत्वको टोली अवैध धन्दा नियन्त्रण गर्न ग्रामीण क्षेत्रमा खटिएको छ । यसैक्रममा लागूऔषध गाँजा र प्रतिबन्धित औषधिसहित बुधबार बिहान ५ जना लेटाङबाट पक्राउ परेका छन् । थपलियाको टोलीले शंकास्पद व्यक्तिका घर तलासी गर्दा लागूऔषध र प्रतिबन्धित औषधि फेला परेको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार सूचनाका आधारमा प्रहरीले बिहान ७ बजेतिर विभिन्न घरमा छापा हानेको थियो । लागूऔषध र प्रतिबन्धित औषधिसहित लेटाङ नगरपालिका–८ का २० वर्षीय सुवास कार्की, २५ वर्षीय लोकेश राई, लेटाङ–९ का २० वर्षीय दिवाहाङ राई, पवन बाग्दास र २६ वर्षीय अभिषेक दर्जीलाई पक्राउ गरिएको जानकारी दाहालले दिए । उनका अनुसार सुवास र लोकेशको घरबाट प्रतिबन्धित औषधि स्पासपेन र ट्रामाडोलका १०–१० पत्ता खोल तथा १० ग्राम गाँजा बरामद भएको छ । दिवाहाङ र पवनको घारबाट स्पासपेन २ सय र ट्रामाडोल २ सय ट्याब्लेट तथा आधा किलोग्रामभन्दा बढी गाँजा बरामद भएको जानकारी उनले दिए । त्यस्तै, घरबाट ट्रामाडोल ४ सय ४५ र स्पासपेन ५ सय ५३ ट्याब्लेट बरामद भएपछि लेटाङ–९ का २६ वर्षीय अभिषेक दर्जीलाई पनि पक्राउ दाहालले बताए । गत शनिबार पनि लेटाङका २ वटा घरमा प्रहरीले छापा हानेको थियो । बिना इजाजत प्रतिबन्धित औषधि लुकाएर एवं संचय गरेर घरमा राखेको पाइएपछि लेटाङ–३ का तेजनकुमार राई पक्राउ परेका थिए । प्रतिबन्धित औषधिको कारोबारमा संलग्न लेटाङ–३ का श्यामकुमार लिम्बू फरार बनेका छन् । प्रतिबन्धित औषधिसहित पक्राउ परेकालाई प्रहरीले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि औषधि व्यवस्था विभागको जिम्मा लगाउने गरेको छ । लागूऔषधसहित पक्राउ परेकालाई लागूऔषध ऐनअन्तर्गत कारबाही अघि बढाउने गरिएको जानकारी डीएसपी दाहालले दिए । उनका अनुसार प्रतिबन्धित औषधि मिसाएर लागूऔषधका रूपमा प्रयोग गर्ने गरिएको अनुसन्धानबाट खुलेको छ । लागूऔषधका दुव्र्यसनीले ट्रामाडोल र स्पासपेन मिसाएर लागूऔषधका रूपमा प्रयोग गर्ने गरेको प्रहरीले पत्ता लागाएको हो । औषधिजन्य वस्तुको अवैध ओसारपसार, बिक्री तथा सेवन नियन्त्रणका लागि ग्रामीण क्षेत्र केन्द्रित अभियान चलाइएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार