सप्तकोशी नदीमा पानीको बहाव बढ्यो

बुधबार, २० असार २०८०
विराटनगर । केही दिनयताको लगातार वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव वृद्धि भएको छ । पहाडी क्षेत्रमा भएको धेरै वर्षाका कारण सप्तकोशी नदीमा जलस्तर बढेको हो । आज बुधबार ११ बजे कोशी ब्यारेजमा पानीको बहाव १ लाख २६ हजार १६५ क्युसेक प्रतिसेकेन्ड रेकर्ड भएको नियन्त्रण कक्षले जनाएको छ । जलस्तर बढेसँगै ब्यारेजका कूल ५६ मध्ये १८ वटा ढोका खोलेर पानीलाई निकास दिइएको छ । बाढी पूर्वानुमान महाशाखाले सप्तकोशीका सहायक नदीहरुमा जलस्तर बढ्ने र आकास्मिक बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । वर्षाका कारण तराईका जिल्लाको जनवीवन प्रभावित भएको छ । सिरहा, सप्तरी, महोत्तरीको जनजीवन प्रभावित भएको हो । वर्षाले सप्तरी जिल्लाभर शैक्षिक संस्थाको अध्ययन अध्यापन प्रभावित बनेको छ । दैनिक रुपमा मजदुरी गरेर जीविकोपार्जन गर्ने वर्ग मर्कामा परेका छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा डुबान भएको छ । दुई फिटसम्म डुबान हुँदा ओपीडी, एक्सरे, फार्मेसीसहितका सेवा प्रभावित भएको छ । बाढीपहिरोका कारण तीनवटा राजमार्ग अवरुद्ध भएका छन् । सडक विभागको तथ्यांकअनुसार तीनवटा राजमार्ग पूर्ण रुपमा ठप्प छन् भने १३ वटा राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन् । मेची राजमार्गअन्तर्गत पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलामा आवातजावत पूर्ण रुपमा बन्द छ । यस्तै तमोर करिडोरअन्तर्गत पाँचथरकै माझिटार, हेवा खोलामा सडक अवरुद्ध भएको छ । यो सडक खण्ड चतरा मूलघाट सुभाङखोला हुँदै गएको छ । यसैगरी, कोशी राजमार्गअन्तर्गत संखुवासभाको हाइटारमा सडक अवरुद्ध हुँदा यातायात सञ्चालन प्रभावित भएको छ । अवरुद्ध सडक सञ्चालनका लागि प्रयास भइरहेको विभागले जानकारी दिएको छ । विभागले हालसम्म अवरुद्ध भएका ५७ वटा सडक सञ्चालनमा आइसकेको जनाएको छ । यो वर्ष मात्रै ७३ वटा सडक खण्ड अवरुद्ध भएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार