कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

विहीबार, २१ असार २०८०
विराटनगर । कोशी प्रदेशको पाँचौं मुख्यमन्त्रीको रूपमा उद्धव थापा नियुक्त भएका छन् । नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) समेतको समर्थनमा कांग्रेस नेता थापा मुख्यमन्त्री बनेका हुन् । थापालाई कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, समाजवादीका ४ र जसपाका १ जना प्रदेशसभा सदस्यको समर्थन छ । प्रदेशसभामा नेकपा (एमाले) का ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना सांसद छन् । माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको थियो । संसदबाट विश्वास गुमाएपछि एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार असार १५ गते ढलेको थियो । प्रदेश प्रमुखले आज साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका थिए । गठबन्धनले समयसीमाभित्रै प्रदेश प्रमुखको कार्यालयमा पुगेर थापालाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेको थियो । मुख्यमन्त्रीमा नियुक्त भएका थापा कांग्रेस कोसी प्रदेशका सभापतिसमेत हुन् । झापा घर भएका उनी कांग्रेसका समानुपातिक सांसद हुन् । सरकार गठनमा सभामुखको प्रयोग संविधानविपरीत हुने भन्दै विरोध भइरहेका बेला प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ । एमाले र राप्रपा विपक्षमा बस्दा सभामुखबाहेक बहुमतका लागि संख्या पुग्ने अवस्था थिएन । राप्रपालाई ल्याउने प्रयास असफल हुँदा संविधानविपरीत गठबन्धनले सभामुखसमेतलाई गणना गरेर मुख्यमन्त्रीका लागि दाबी पेश गरेको हो । प्रदेश प्रमुखले त्यसलाई स्वीकार गर्दै थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार