विराटनगर । इटहरी उपमहानगरपालिकाले इटहरीमा सञ्चालित २ वटा संस्थागत विद्यालयको अनुमति रद्द गर्ने निर्णय गरेको छ ।
विद्यार्थीलाई दिइने छात्रवृत्तिसम्बन्धी विवरण नबुझाएको भन्दै इटहरी नमुना स्कुल र इटहरी चिल्ड्रेन स्कुलको सञ्चालन अनुमति खारेज गरेको हो ।
उपमहानगरका शिक्षा महाशाखा प्रमुख सूर्यप्रसाद सुबेदीका अनुसार शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम २५१ (२) मा व्यवस्था भएबमोजिम शैक्षिक सत्र २०८० मा वितरण गरिएको छात्रवृत्तिको विवरण पेस नगरेकाले अनुमति खारेजीको निर्णय गरिएको हो ।
विद्यालयले उपलब्ध गराएको छात्रवृत्तिसम्बन्धी विवरण पेस गर्न सूचना गर्दै यसअघि उपमहानगरले पचात्रार गरेको थियो ।
पटक पटक पत्र पठाउँदा पनि छात्रवृत्ति सम्बन्धी विवरण तोकिएको समयावधिभित्र पेस नगरिएपछि असार २९ गते बसेको नगर शिक्षा समितिको बैठकको बैठकले इटहरी नमुनालाई ५० हजार र इटहरी चिल्ड्रेन होमलाई एक लाख जरिवानासहित विवरण पेस गर्न पत्राचार गरेको थियो ।
सो समयावधिमा पनि विवरण पेस नभएकाले शैक्षिक सत्र २०८० देखि लागू हुने गरी ती दुवै विद्यालयको अनुमति खारेज गरेको सुबेदीले जानकारी दिए ।
इटहरी नमुनाले पूर्व प्राथमिक तहदेखि ६ सम्म र चिल्ड्रेन होमले १० कक्षा सम्म पठनपाठन गराउँदै आएको छ ।
यसैबीच, उपमहानगरले विद्यालयहरुको अवस्था अध्ययन गर्ने क्रम तीव्र बनाएको छ । मेयर हेमकर्ण पौडेलले व्यवस्थापन समितिका प्रतिनिधिलगायत सरोकारवालासँग छलफल गर्दै सुधारका लागि निर्देशन दिएका छन् ।
प्रतिक्रिया