इलाम । इलामको एक सहकारीको बिक्री प्रमाणपत्र खारेज भएको छ ।
किसानलाई बाँड्नुपर्ने सरकारी अनुदानको रासायनिक मल व्यापारीलाई बेचेको पुष्टि भएपछि इलाम नगरपालिकाको एक सहकारीको बिक्रेता प्रमाणपत्र खारेज गरिएको हो ।
इलाम १ साखेजुङको सूर्य ज्योति कृषि सहकारी संस्थाको बिक्रेता प्रमाणपत्र कृषि सामग्री कम्पनी लिमिटेडले खारेज भएको हो ।
जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा इलाम नगरपालिका–७, सुनगाभा चोकको एक कृषि बीज भण्डारमा अनुदानको मल बिक्रीका लागि राखेको पाइएको थियो ।
सूर्य ज्योति सहकारीबाटै यो निजी पसलसम्म बिक्रीका लागि मल ल्याएको पुष्टि भएपछि सहकारीको विक्रेता प्रमाणपत्र खारेज गरिएको हो ।
भेषराज पराजुलीले सञ्चालन गरेको पसलमा गत असारमा गरिएको अनुगमनमा ३४ बोरा युरिया र १८ बोरा डिएपी मल भेटिएको थियो ।
तीन दिनभित्रमा कागजात बुझाउन दिइएको म्याद असार १७ मा सकिँदा पसलले मलको आधिकारिकताबारे कुनै प्रमाण दिन नसकेपछि सहकारीबाटै मल लिएको पुष्टि भएको थियो ।
त्यसपछि जिल्ला प्रशासन कार्यालयले पसलमा भेटिएको ५२ बोरा मल जफत गरी इलाम नगरपालिकालाई बुझाएको थियो । पसल सञ्चालकलाई २ लाख रुपैयाँ जरिमाना गराइएको थियो ।
सहकारीले लिमिटेडबाट ३ सय ७० बोरा (प्रतिबोरा ५० किलो) युरिया र १ सय ५८ बोरा डिएपी लिएको थियो । सहकारी नियमन गर्ने इलाम नगरपालिकाले सूर्य ज्योतिलाई कारबाही प्रक्रिया अघि बढाउन बाँकी नै रहेको जनाएको छ ।
केही दिनभित्रै नगरले सहकारीले निजी व्यवसायीलाई अनुदानको मल दिएको भन्ने विषयमा थप अध्ययन गरी कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ ।
प्रतिक्रिया