प्रत्यक्षमै ठूला दलहरुलाई कडा टक्कर, काठमाडौंमा घन्टीको

सोमबार, ०५ मंसिर २०७९
  करिब ५ महिना अगाडिमात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले देशको राजधानी शहर काठमाडौंमा आश्चर्यजनक जनलहर सिर्जना गरेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फकै प्रतिस्पर्धामा यस पार्टीका उम्मेदवारहरुले ठूला दलका हेभीवेटहरुलाई कडा टक्कर दिइरहेका छन् । काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये सबैमा मतगणना जारी रहेको छ । यीमध्ये ४ क्षेत्रमा ठूला दलहरुलाई स्तब्ध पार्दै घन्टीका उम्मेदवारले अग्रता बनाएका छन् । अन्य क्षेत्रमा पनि घन्टीलाई उल्लेख्य मत प्राप्त भइरहेको छ । अहिलेसम्म प्राप्त परिणामअनुसार काठमाडौंको क्षेत्र नम्बर २, ६, ७ र ८ मा स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अग्रता बनाएका हुन् । काठमाडौं २ मा सोविता गौतम, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठले लिड गरिरहँदा गठबन्धन र एमालेका उम्मेदवारले उनीहरुलाई पछ्याइरहेका छन् । काठमाडौं ६ का शिशिरलाई एमालेका सर्वेन्द्र खनाल र कांग्रेसका भीमसेनदास प्रधानले पछ्याइरहेका छन् । शिशिरलाई उछिन्न खनाल र प्रधान दुवैलाई हम्मे पर्ने संकेत देखिएको छ । क्षेत्र नम्बर ७ मा भने स्वतन्त्रका पराजुली साँघुरो अन्तरले अगाडि छन् । एमालेका श्यामकुमार घिमिरेले उनलाई नजिकबाट पछ्याइरहँदा गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराई तेस्रोमा छिन् । यस्तै क्षेत्र नम्बर ८ मा भने ठूला दलहरुलाई ओझेलमा पार्दै स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ र लौरो चुनाव चिन्हबाट लडेका सुमन सायमीबीच मुख्य प्रतिस्पर्धा छ । यो क्षेत्रबाट श्रेष्ठले बाजी मार्ने स्वतन्त्र आँकलनहरु गरिएका छन् । यद्यपि उनीहरुको अन्तराल धेरै ठूलो छैन । काठमाडौंको क्षेत्र नम्बर २ मा पनि स्वतन्त्र पार्टीको प्रारम्भिक अग्रता छ । यस पार्टीकी युवा उम्मेदवार सोविता गौतमले गठबन्धनकी उम्मेदवार ओनसरी घर्तीलाई पछि पारेकी छन् । यो क्षेत्र रास्वपाले जीतको आशा राखकोमध्ये पर्छ । यीबाहेक अन्य क्षेत्रमा पनि स्वतन्त्र पार्टीका उम्मेदवारहरुको बलियो उपस्थिति देखिन्छ । काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठले झिनो अग्रता लिँदा स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले उनलाई नजिकैबाट पछ्याइरहेका छन् । काठमाडौं १० मा पनि घन्टीका उम्मेदवार दोस्रो स्थानमा छन् । नेपाली कांग्रेसका राजेन्द्र केसीले अग्रता लिइरहेको यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप श्रेष्ठले पछ्याएका हुन् । यद्यपि, यहाँको अन्तराल अलि फराकिलो छ । काठमाडौंको क्षेत्र नम्बर ४ र ५ मा स्वतन्त्र पार्टीले आफ्नो उम्मेदवार नै उठाएको थिएन । यसको फाइदा कांग्रेसलाई मिलेको छ । क्षेत्र नम्बर ४ मा कांग्रेसका गगन थापाले फराकिलो अग्रता लिएका छन् । एमालेका राजन भट्टराई उनको पछाडि छन् । क्षेत्र नम्बर ५ मा एमालेका हेभीवेट उम्मेदवार ईश्वर पोखरेललाई पछि पार्दै कांग्रेसका युवा नेता प्रदीप पौडेलले अग्रता बनाएका छन् । काठमाडौं ३ मा नेकपा एमालेका कृष्ण राईले प्रारम्भिक अग्रता लिँदा स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापा तेस्रोमा छन् । दोस्रोमा कांग्रेसका सन्तोष चालिसे छन् । एमाले र कांग्रेस उम्मेदवारबीचको अन्तराल ठूलो छैन । काठमाडौं क्षेत्र नम्बर १ मा रास्वपा सबैभन्दा पछाडि परेको छ । यस क्षेत्रमा नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिँदा घन्टीका उम्मेदवार पुकार बम चौथोमा छन् । दोस्रोमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र तेस्रोमा एमालेका किरण पौडेल छन् । समग्रमा काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये रास्वपा र कांग्रेस ४(४ स्थानमा अगाडि छन् । एमालेले दुई क्षेत्रमा अग्रता बनाएको छ । यसैगरी उपत्यकाको अर्को जिल्ला ललितपुरमा भने एमाले बलियो देखिएको छ । ललितपुरका तीनवटै क्षेत्रमा एमालेले अग्रता लिएको छ । ललितपुरको १ मा नवराज सिलवाल, २ मा प्रेमबहादुर महर्जन र ३ मा अमृत खड्काले सुरुवाती अग्रता लिएका हुन् । यद्यपि, क्षेत्र नम्बर ३ मा रास्वपाकी डा। तोसिमा कार्कीलाई बलियो प्रतिस्पर्धी मानिएको छ र उनले अन्तिमसम्ममा नतिजा उल्टाउन सक्छिन् । उपत्यकाको तेस्रो जिल्ला भक्तपुरका दुवै क्षेत्रमा मतगणना जारी छ । भक्तपुर १ मा राप्रपाका भरतबहादुर खड्का र २ मा कांग्रेसका दुर्लभ थापा क्षेत्री अगाडि छन् । एमालेका चर्चित नेता महेश बस्नेत भक्तपुर २ मा पछि परेका छन् । काठमाडों उपत्यकाका कुनै पनि क्षेत्रमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अग्रता लिन सकेका छैनन् । कांग्रेससँग गठबन्धन गरे पनि यी पार्टीका उम्मेदवारप्रति मतदाता आकर्षित नभएको देखिएको छ । काठमाडौंमा रास्वपाले समानुपातिकतर्फ उल्लेख्य मत ल्याउन सक्ने अनुमान गरिए पनि प्रत्यक्षमा त्यति ठूलो आशा थिएन । स्वयम् पार्टीकै आन्तरिक विश्लेषणमा पनि बढीमा २ सीट जित्नसक्ने प्रक्षेपण गरिएको थियो । समानुपातिकतर्फ यो पार्टीले काठमाडौंमा सबैभन्दा धेरै भोट ल्याउने निश्चित जस्तै देखिएको छ । समानुपातिक मतको गणना भएका दुई क्षेत्रमा रास्वपालाई आएको मत अन्य पार्टीको तुलनामा निकै बढी छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार