देशभर ७७ प्रतिशत धान रोपाइँ

सोमबार, १५ साउन २०८०
काठमाडौं । देशभर ७७ प्रतिशत धान रोपाइँ सकिएको छ । गत वर्षको यही अवधिमा ९० प्रतिशत भू-भागमा धान रोपाइँ भएकोमा चालुआर्थिक वर्षमा ढिला गरी मनसुन सुरु भएको र मनसुन सुरु भएपनि पर्याप्त वर्ष नहुँदा धान रोपाइँ कम भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । नेपालमा कुल १३ लाख ५७ हजार ८१६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको मन्त्रालयले जनाएको छ । १२ साउनसम्म १० लाख ५३ हजार ४०४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । सुदूरपश्चिमा धान रोपाइँ हुने ९९ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । गत वर्ष पनि १२ साउनसम्म सुदूपश्चिममा ९९ प्रतिशत नै धान रोपाइँ सकिएको थियो । कर्णाली प्रदेशमा भने गत वर्षको तुलनामा धान रोपाइँ बढेको छ । गत वर्ष धान रोपाइँ हुने क्षेत्रमध्ये १२ साउनसम्म ७८ प्रतिशत मात्रै रोपाइँ भएकोमा यो वर्ष १२ साउनसम्म ८५ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । लुम्बिनी प्रदेशमा पनि ८१ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । गत वर्ष १२ साउनसम्म ८५ प्रतिशत धान रोपाइँ भएको थियो । गण्डकी प्रदेशमा ८२ प्रतिशत मात्रै रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । बागमती प्रदेशमा ७२ प्रतिशत र मधेश प्रदेशमा ५९ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । कोशी प्रदेशमा ८४ प्रतिशत रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । गत वर्ष कोशी प्रदेशमा ८८ प्रतिशत भूभागमा धान रोपाइँ भएको थियो । सबैभन्दा धेरै धान खेती हुने मधेश प्रदेशमा नै रोपाइँ कम भएको छ । मधेशमा ३ लाख ५४ हजार ३८३ हेक्टर क्षेत्रफलमा धान खेती हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार